“सभ्य समाजको पहिचान लैङ्गिक हिंसा विरुद्धको अभियानका” नारा सहित हरेक वर्ष औपचारिकताका लागि परम्परागत रूपमा यस्ता दिवस नेपालमा मानाउँने गरिन्छ । सहरका तारे होटलमा विभिन्न गोष्ठी, अन्तक्र्रिया र छलफलमा यसबारे ठुलो वहस हुने गर्छ । यस्तै सुदुरपश्चिमा जरो गाडेर रहेको छाउपडि प्रथा अन्त्यका लागि नेपालमा थुप्रै छलफल तथा बहस धेरै पटक भयो तर दलित महिलाका समस्या जिउँका तहि रहेको छ ।
काठमाडौं – धेरैजसो दलित महिलालाई आफू अन्यायमा परेको नै थाहा छैन । यदि थाहा पाए पनि न्यायका लागि के गर्ने ? कानुनी प्रक्रियामा कसरी अगाडि बढाउने भन्नेबारे थाहा नै हुँदैन । यदि कानुनी प्रक्रियामा जाने आट गरे भने धेरैजसो घटनामा विभिन्न बहानामा मिलापत्र गराउने गरिन्छ । कही कसैले कानुनी प्रक्रिया अपनाए भने न्याय पाउनु भनेको फलामको चिउरा चपाउनु साबित छ ।
त्यसैले हरेक वर्ष मनाइने दिवस र अभियानले समाजको पिँधमा परेका धेरैजसो दलित महिलालाई छुन सकेको छैन । महिलाका कुरा गर्दा महिलाभित्रको विविधतामा खासै ध्यान दिइँदैन । दलित महिला गैरदलित महिलाबाटै विभेद र हिंसामा परेका छन् भने अर्कातर्फ आफ्नो समुदायका दलित पुरुषबाट पनि हिंसामा परेका छन् । जातीय, वर्गीय, लैङ्गिक गरी धेरैतिरको मारमा दलित महिला परेका छन् ।
नेपालमा विसौं शताब्दिको उत्तरार्धपछी दलीत शब्दको प्रयोगले नामको रुपमा व्यापकता पाएको भेटिन्छ । शब्दको अर्थले दमन वा दलनमा परेको भन्ने अर्थ लाग्ने भएतापनि नेपालका शील्पी समुदायको लागि यो शब्दलाइ वर्तमान समयमा प्रयोग गर्ने गरिएको छ । तर दमीत वा दलनमा परेको शील्पी समुदाय भन्दा बाहिरको समुदायमा यो शब्द लागू नहुनुले यो शब्दको अर्थ र प्रयोगमा रहेको असमानजस्यता विचारणीय छ । इन्डियाबाट नेपालमा विस्तारीत दलीत शब्द हाल इन्डियामा प्रयोग गर्न नै असंवैधानिक घोषणा गरीएको परिप्रेक्षमा नेपालमा चाँही राष्ट्रिय दलीत आयोग नै स्थापना गर्नु्को औचित्यमाथि प्रश्न उठ्ने गरेको छ ।
यस्तै बिरोधाभाषपुर्ण दलित शब्दको अर्थ र प्रयोगले अहिले नेपालमा पेशालाइ जनाउँने शब्द जस्तै गाइने, दमै, कामी, सार्की आदी सामान्य बोलीचालीमा असहज हुँने तर अङ्ग्रेजहरुले तल्लो स्तरको गाली दिन प्रचलनमा ल्याएको दलीत शब्द चाँही प्यारो हुने अवस्था श्रजना भएतापनी समाजको पिँधमा परेको दलित महिलाको कुरा गर्दा उनीहरूको अवस्था निकै दयनीय छ । दलित महिलाले भोग्दै आएका हिंसा, विभेद र उत्पीडन निकै डरलाग्दो छ । सदियौँदेखि हिंसा, विभेद, थिचोमिचोमा पर्दै आएका दलित महिलाको अन्य महिलाको भन्दा पृष्ठभूमि फरक छ । उनीहरू चरम गरिबी, अशिक्षा, सचेतनाको कमी, बेरोजगारी, अन्धविश्वास, अन्याय, अत्याचारलगायत थुप्रै समस्यासँग जुध्नु परेको छ । के समाजको उत्पीडनमा परेका महिलाहरूलाई आफू हिंसामा परेको जानकारी होला त ? के न्यायका लागि उजुरी दिने आट गर्लान् त ? के उनीहरूलाई न्याय पाउन सहज वातावरण होला त ? यसरी हेर्दा पक्कै पनि सहज छैन ।
सबैभन्दा पछाडि परेका दलित महिलालाई पितृसत्तात्मक सोच, सामाजिक संरचना र कानुनी रूपमै चरम विभेद गरियो । राज्यको हरेक क्षेत्रमा वञ्चित गरियो । त्यसैले पनि भुइँ तहका, विपन्न वर्गका दलित महिला यौन शोषण, घरेलु हिंसा, दाइजो प्रथा, कुटपिट, बोक्सीको आरोप, बेचबिखन, बहुविवाह, बालविवाह, जातीय विभेद आदि विभेद र हिंसाबाट बढी प्रताडित छन् । त्यसैले उनीहरू शैक्षिक आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक, अधिकारबाट वञ्चित छन् । एकातर्फ अधिकारबाट वञ्चित छन् त अर्कातर्फ विभिन्न हिंसा, विभेद, अन्याय सहनु परेको छ ।
नेपाल प्रहरीको तथ्याङ्कअनुसार, आर्थिक वर्ष ०७४÷७५ मा महिला हिंसाका घटना १५ हजार २३४ थिए । त्यसको अर्को वर्ष ०७५÷७६ मा १९ हजार ३०४ पुगे । त्यसपछिका दुई वर्ष सङ्ख्यामा केही कम आए पनि ०७८/७९ मा पुग्दा फेरि बढेर २१ हजार ३८७ पुग्यो । चालू आर्थिक वर्षको तीन महिनामा मात्रै पाँच हजार ४३५ महिला हिंसाका घटना भएका छन् । आर्थिक वर्ष २०७८/०७९ मा महिलामाथि हुने हिंसा र अपराधका २१ हजार ३८७ घटनामा पीडित २१ हजार ४७१ जनामध्ये १२ प्रतिशत अर्थात् दुई हजार ६८१ जना दलित समुदायका महिला थिए । जसमध्ये दुई जना महिला र बालिकाको बलात्कारपछि हत्या भएको छ । जबरजस्ती करणीमा ५६०, घरेलु हिंसामा एक हजार ९२१ जातीय भेदभाव तथा छुवाछूतमा १०, बहुविवाहमा १२५, बाल यौन दुराचारमा ५२, बालविवाहमा तीन, बोक्सीको आरोपमा पाँच र अवैध गर्भपतनमा तीन जना पीडित छन् ।
तथ्याङ्कअनुसार, सबैभन्दा बढी घरेलु हिंसा, जबरजस्ती करणी, बहुविवाहका घटना बढी देखिन्छ । त्यस्तै दलित महिला सङ्घले गत आर्थिक वर्षको कात्तिकदेखि चालू आर्थिक वर्षको असोजसम्म विभिन्न आठ जिल्लामा भएका घटनाको तथ्याङ्कअनुसार १०० वटा रहेका छन् । जसमध्ये सबैभन्दा धेरै घरेलु हिंसा ६३ वटा, जबरजस्ती करणी दुई, जबरजस्ती करणी गरी हत्या एक, बहुविवाह १०, बालविवाह चार, छुवाछूत १४ र यौन तथा जातको आधारमा भएको र्दुव्यावहार ६ वटा छन् ।
यसरी हेर्दा दलित महिला निकै शोषणमा परेको देखिन्छ । दलित महिलामाथि भएको घटनालाई सामान्य रूपमा लिइन्छ । के उनीहरू माथि भएका घटना मानव अधिकार विरुद्धका घटना होइनन् ? उनीहरू दोस्रो दर्जाको नागरिकको रूपमा बाँच्नु परेको छ । अझै पनि विभिन्न स्वरूप, प्रारूप, तौरतरिकाबाट दलित महिला माथि हिंसा र विभेद हुँदै आएको छ ।
अमेरिकामा जर्ज फ्लोयडको हत्या र नेपालमा नवराज विक समेतको हत्यामा चर्किएको विवादमा बुझ्नुपर्ने कुरा भनेको मानिस मानिसको विभेद मानिस आफैंले सिर्जना गरेको हो प्रकृतिले हैन । विभेदका अनेक रुपहरु छन् सेतो, कालो, धर्म, सम्प्रदाय, वर्ण, जात, पूर्व, पश्चिम यस्तै अनेक । नेपालमा यो विभेद मूलतः वर्ण व्यवस्था र त्यसको उपविभाजन जात जातिमा मात्र नभएर भूगोल, शरीरको बनोट, भाषा, भेष, वर्गको आधारमा समेत व्यापक छ । हाम्रो प्राचिन वर्ण व्यवस्था र त्यसभित्रको जातीय विभाजनले सिर्जना गरेको अमानविय परिदृश्य र अबको आवश्यकताको बारेमा बहस हुनु आवश्यक छ ।
जन्मदै जात तोकिनु, उहीँ जातीभित्र मात्र विवाह गर्नु, तोकिएको भोजन खानु, जात अनुसारको व्यवहार गर्नु, माथिल्लो तल्लो श्रेणी बन्नु, एक कथित उच्च जातले हेप्नु र तल्लो जात हेपिनु यो सबै जातीय व्यवस्थाको विशेषता हुँदै आएको हो । अहिले प्रचलित जात–जाति आ–आफ्नो पेशा, सिपको कारणबाट बनेका हुन् । मानिसहरुबीच कामको बाडँफाडँ गर्दा उक्त काममा दक्षता हासिल हुने, एक–अर्कामा आश्रित हुँदा एक्यवद्धता र सामाजिक सद्भाव बढ्ने हेतुले पेशाको आधारमा जात छुट्याइएको थियो जुन पछी संस्थागत गरियो । तसर्थ मानिस आफैले छुत (ब्रह्माण, क्षेत्री) र अछुत (वैश्य, शुद्र) जातीमा मानिसको विभाजन गरिदिए । अम्बेडकर भन्छन “शुद्रहरु” आर्य जातीकै मानिस हुन् ।”
जनावरले समेत आफ्नो ढंगले अधिकारको उपभोग गर्न पाउँदछ भन्ने कुराको वकालत सुरु भएको समयमा मानिस भएर पनि दलितहरूले समाजमा कुकुरको भन्दा पनि तल्लो व्यवहार भोग्नु परिरहेको यथार्त उदहारण छन् । उस्तै प्रकृतिबाट जन्मने र मर्ने भएता पनि दलित भएर जन्मेकै आधारमा छुवा–छुत र भेदभाव भोग्नुपर्ने स्थिति अद्यापि ज्यूँकात्यूँ छ । दलित जाति आफू मानव भएर स्वतन्त्रतापूर्वक जीउन पाएका छैनन् । बहुजाति र बहुभाषि रहेको नेपाली समाजमा दलित महिलाहरुलाई पाखा पारिएको छ ।
मान्छे भएर जन्मेपछि स्वतन्त्रढंगले बाँच्न र राज्यद्वारा प्रदत्त अधिकारहरूको समान उपभोग गर्न पाउनु सबै मानबको नैसर्गिक अधिकार हो तर नेपाली समाजमा भने दलित भएर जन्मेकै आधारमा ऊ आफ्नै अधिकारबाट समेत वञ्चित हुनुपरेको छ । नेपाली समाजमा मात्र नभएर युगौदेखि बलियोले निर्धोलाई हेप्ने र मालिक र दासको मानसिकता संसारभर कुनै न कुनै रुपमा रहेको चल्दै आएको पाइन्छ ।
संसारमा देखा परेको सबै जातीय समस्याहरूमध्ये “छुवाछुत” सबैभन्दा क्रुर र मानवीय तत्वलाई हिनताग्रस्त बनाउने समस्या हो । यो देख्दा सामान्य लाग्ने तर अनुभूति गर्दा र भोग्दा अत्यास लाग्ने समस्या हो । आहुतिले भने झैं दलितहरूले बषौं देखि भोग्न विवश छुवा–छुतको समस्या पीडादायक छ । एउटै समाजमा बसेर पनि दलित हुनुका कारण मानव भएर बाँच्ने हैसियतसम्म पाएका छैनन् उनीहरूले । समाजमा भोग्नु परेको पीडा तथा राज्यले उनीहरूमाथि गरेको भेदभावका कारण उनीहरूको जीवन अत्यन्त पिडादायक छ ।
जातीय भेदभाव तथा छुवाछूत र लैङ्गिक हिंसाको सबैभन्दा बढी मार दलित महिलामाथि छ । आर्थिक, सामाजिक हिंसाको मारमा दलित महिला छन् । समाजमा चौतर्फी हिंसा र उत्पीडनमा रहेका दलित महिलाको सवाल नीति निर्माण तहमा बहसको विषय बन्न अझै सकेको छैन । दलित महिला सङ्घले गरेको एक अध्ययन अनुसार दलित महिला जातीय, लैङ्गिक, आर्थिक, सामाजिक हिंसाबाट सबैभन्दा बढी प्रभावित हुँदै आएका छन् । विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारलाई आधार मानेर गरिएको सो अध्ययनमा दलित पुरुषभन्दा दलित महिला बढी जातीय विभेदमा पर्ने गरेका छन् । गैरदलित महिलाभन्दा दलित महिला लैङ्गिकलगायत आर्थिक–सामाजिक हिंसामा परेका छन् ।
यसरी हेर्दा दलित महिलाका हिंसा र विभेदका घटनाको उजुरी प्रहरीसमक्ष एकदमै न्यून पुग्ने गरेको पाईन्छ । अझै कतिपय घटना त बाहिर आउँदैनन् । त्यस्तै कतिपय घटनामा मेलमिलाप गराइन्छ । मेलमिलापका लागि पहिला त घरपरिवार समाज, स्थानीय तहमा गठित न्यायिक समिति र नेपाल प्रहरीसमेतले पहल गर्छ । जसले गर्दा कतिपय घटनाले नकारात्मक असर पार्छन् ।
जनप्रतिनिधि र समाजका अगुवाले मिलापत्र गराउँदा अंगिराको ज्यान गयो । करिब दुई वर्षअगाडि रूपन्देही देवदहकी १३ वर्षीया बालिका अंगिरा पासीको कथित तल्लो जात भएकै कारण जबरजस्ती करणी गरेको घटना प्रहरी अनुसन्धानले देखायो । देवदह ११ का २५ वर्षीय कोइला भन्ने वीरेन्द्रले जेठ ९ गते जबरजस्तीकरणी गरेको, त्यसपछि वीरेन्द्रसहित उनका आमा र सानी आमाले जातीय विभेद गरी अंगिरालाई मृत्युको मुखसम्म पु–याएको अनुसन्धानमा फेला प–यो । प्रहरी अनुसन्धानमा कथित माथिल्लो जातको केटा भएकै कारण वीरेन्द्रले अंगिरामाथि पटक पटक जबरजस्ती करणी गरेको समेत देखिएको थियो ।
स्थानीय जनप्रतिनिधि र समाजका अगुवाहरूले १३ वर्षीय बालिकालाई जबरजस्ती करणी गर्ने कोइला भन्ने २५ वर्षीय वीरेन्द्रलाई कारबाहीको सट्टा जिम्मा लगाइदिएका थिए । कथित तल्लो जात (दलित) भएकाले घर लैजान नमानेका वीरेन्द्र र उनकी आमा अकाली भरले तल्लो जात भन्दै कुटपिट गरेको केही घण्टामै रोहणी नदी किनार छेउको रुखमा झुन्डिएको अवस्थामा अंगिराको शव भेटिएको थियो । तल्लो जात भएकाले वीरेन्द्र र उनको परिवारलाई केटीलाई अस्वीकार गरेको, समाजले समेत केटाको जिम्मा लगाएपछि बाध्य भएर मृत्युको रोज्न पुगेको प्रहरीले तयार पारेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।
यस्ता घटना त केवल उदाहरण मात्रै हुन् । यस्ता घटना समाजमा थुप्रै छन् । तर दलित महिलाका मुद्दा सम्बोधन हुन सकेको छैन । महिलाहरूले पनि दलित महिलाको विषय समेट्न सकेका छैनन् । समग्र महिलाभित्र पनि दलित महिला पीडित छन् भने समग्र दलित समुदायभित्र पनि दलित महिला नै पीडित छन् । यसर्थ दलित महिलामाथि हुने हिंसा, विभेद, अन्यायका विषयमा मानव अधिकार विरुद्धको सवााल हुन् । यस्ता विषय सबैको साझा हुनुपर्छ । कानुन कार्यान्वयन गर्ने निकाय पनि दबाब, प्रभावबाट माथि उठेर छिटोछरितो इमानदारिताका साथ कानुन कार्यान्वयन गराउन लाग्नुपर्छ ।
दलित महिलाका प्रमुख मुद्दाहरुमा जातीय भेदभाव तथा छुवाछुत, अन्तरजातीय विवाहका कारण पीडित, घरेलु हिंसा, हत्या, बलात्कार, बेचबिखन, गरिबी, अशिक्षा, चेतनाको अभाव, यौन शोषण, उच्च प्रजनन् तथा बाल मृत्यु दर हुन् । उनीहरुमाथि पुरातनवादी मूल्य र मान्यताहरु लाद्न गैरदलित तथा दलित समुदायबाट हिंसाको पनि प्रयोग हँुदै आएको छ । र यो परिपाटीलाई समाजमा दण्डहीनता तथा निर्लज्जताका साथ स्विकारिएको अवस्था छ । राज्यले पनि महिला अधिकारको संरक्षणको लागि केही कानुन बनाएको छ । तर दलित महिला भनेर छुट्याइएको छैन् । दलित महिलालाई अरु सरह सक्षम र सबल बनाउन तथा अधिकार प्राप्तिका लागि उनीहरुको सशक्तिकरण गर्न जरुरी छ ।


0 comment