
तेजेन्द्र प्रसाई,
हाम्रो वरिपरिको परिवेशलाई वातावरण भनिन्छ । प्रकृतिमा भएका हावा पानी, वन जंगल ढुँगा, माटो सूर्यको प्रकाश वाताबरणमा पर्छन् । वातावरणलाई पर्यावरण पनि भनिन्छ । सम्पूर्ण प्राणि जगतको बासस्थान वातावरण भएकाले, यसको सन्तुलनबाटनै प्राणिको जीवनचक्र सहज ढंगले चल्छ । हरेक प्राणिलाई आवश्यक पर्ने सम्पूर्ण कुराहरु बातावरणबाट नै प्राप्त हुन्छ । एक अर्कामा अन्योन्याश्रित भएर प्राणि जगतको जीवनचक्र अघि बढेको हुन्छ । प्राणिलाई अति आवश्यक र जीवनदायी मानिने शुद्ध हावा पानीको उपलब्ध गराउन वन जंगल, अर्थात् हरियालीको महत्वपूर्ण भूमिका रहेको हुन्छ । पर्यावरणलाई सन्तुलित राख्ने वन जंगलको विनाश र बढ्दो मानवीय अतिक्रणले डरलाग्दा पर्यावरणीय संकट निम्त्याएको छ । बाढी पहिरो रोक्ने, कार्वनडाई अक्साइडको शोषण गरेर जीवनदायी अक्सिजन प्रवाह गर्ने, मानवका हरेक आवश्यकता पूर्ति गर्ने र प्राणि जगतलाई भोजन र बासस्थानको व्यावस्था गर्ने वन जंगलसँग सन्तुलित पर्यावरण जोडिएको हुन्छ ।
सम्पूर्ण प्राणि जगतको श्रृष्टि सञ्चालन गर्ने प्रकृति माथि पृथ्वीकै सबैभन्दा चेतनाशील प्राणि मानिसबाट भएको अतिक्रमण र विनासकारी कदमले पर्यावरणीय संकट चरम रुपमा बढी रहेको छ । चेतनाशील प्राणि भएका कारण मानवसँग असल खराब छुट्याउने विवेक भए पनि मानवले गरेका खराब कर्म र पृथ्वी माथि एकाधिकार जमाउने होडबाजीको परिणाम स्वरुप विश्व पर्यावरण संंकटको भूँवरीमा रुमलिन पुगेको छ । एकातिर बैज्ञानिक खोज, आविष्कारले मानवको जीवन सहज बनायो भने अर्कातिर यस्ता बैज्ञानिक आविष्कार वातावरण बिनासका कारण पनि बन्न पुगे । पेट्रोल, डिजेलले चल्ने मोटर गाडी, हवाइजहाज, उद्योग, धन्धा, कल कारखाना पर्यावरणको सन्तुलन खलवल्याउने प्रमुख कारक तत्व बन्न पुगेका छन् । सानोतिनो वातावरण विनास देखि सिँगो प्राणि जगत चराचर ध्वस्त पार्ने अणुवम जस्ता हतियार अविष्कार गरेर मानवले आफ्नो विनास आफै गर्ने संकटको खाडल खन्ने काम गरेको छ । पृथ्वीको तापक्रम बर्षेनी बढ्दै जानाले प्रकृतिमा सन्तुलन खलबलिएको छ । ऋतु परिवर्तनको सहज चक्रमा असर पु¥याएको छ । बेमौसमी बर्षा, बाढी, पहिरो, उच्च बर्षा, आत्याधिक हिमपात, बिशालकाय असिना हावाहुरी, विभिन्न खालका प्राणघातक रोग ब्याधी पर्यावरण बिनासकै परिणाम हुन । कतिपय फलफुल, बालीनाली, पशुपंक्षी लोप हुने क्रममा छन् । उच्च हिमश्रंखलाहरु काला पाहाडमा परिणत हुँदै छन् भने पानीको भूमिगत स्रोत समेत सुक्दै गएर पृथ्वी भासिने र मनभूमिकरणमा परिणत हुने समस्या बढेका छन् । बन जंगलमा डँढेलो फैलिने क्रम विश्वव्यापी रुपमा चलिरहेको छ ।
बैज्ञानिक खोज अनुसन्धानका तथ्यहरुले पृथ्वीको उत्पत्तीको अविधि ४६० करोड बर्ष भए पनि जीवहरुको उत्पत्ती ५७ करोड बर्ष पूर्वबाट भएको बताइन्छ । यस बीचमा पृथ्वीमा प्राकृतिक कारणले पाँच पल्टसम्म महाप्रलयका घटनाहरु भएका छन् । यसरी भएको महाप्रलयका घटनाले भएको उथलपुथल पछि विस्तारै पृथ्वी पुनः जीवहरुको उत्पत्ती र विकासको लागि उपयुक्त थलो बन्दै गयो । जल, जमिन, जंगलको उपयुक्त सन्तुलनले पृथ्वी सम्पुर्ण प्राणी जगतको सुन्दर बासस्थल बन्दै आएको छ । मानव सभ्याताको विकासको चरणक्रमसँगै विगत २५० बर्ष अगाडिबाट सुरु भएको औद्योगिक युगबाट पृथ्वी माथि चरम शोषण र अतिक्रमणको होडबाजी चल्दै गयो । सन्तुलित रुपमा रहँदै आएको बायुमण्डलमा क्लोरोफ्लुरो कार्वन, मिथेन र नाइट्रिक एसिड लगायत अन्य ग्याँसहरुको मात्रामा अत्याधिक बृद्धि हुन पुग्यो । २५० बर्ष अगाडि २८० पी.पी.एम. को लेवलमा रहेको कार्वनडाइ अक्साइड अहिले आएर ३९२ पि.पि.एम. सम्म पुगेको तथ्यांङ्क विशेषज्ञहरुले औल्याएका छन् । यो स्थिति प्रदुषणको मात्रा अझै बढ्दै जाँदा निकट भविष्यमै ४०० पि.पि.एम. पुग्ने स्थितिमा रहेको छ । बायुमण्डलको यो अवस्थाले पृथ्वीको तापमान प्राणि जगतको लागि असहनशील अर्थात सहनै नसक्ने अवस्था तर्फ लम्केको देखिन्छ । पृथ्वीको बढ्दो तापक्रमसँग तीव्र अवस्थामा भइरहेको जलबायु परिवर्तनले अर्को महाप्रलयको क्रम निम्त्याएको छ ।
विश्वव्यापी रुपमा देखिएको ग्लोबल वार्मिङ्गको समस्या पर्यावरण विनासको उपज भएको र यो मानव सिर्जित समस्यालाई ल्युनिकरण गरी पृथ्वी बचाउनु पर्छ भन्ने विषयमा सन् १९७२ मा संयुक्त राष्ट्र संघको पनि ध्यानाकर्षण भयो । स्वीडेनको स्टकहोममा भएको संयुक्त राष्ट्र संघको महासभाले ५ जुन लाई विश्व पर्यावरण दिवसका रुपमा मनाउने घोषणा ग¥यो । सन् १९७४ देखि विश्व भर ५ जुनलाई बातावरण दिवसको रुपमा मनाउँदै स्वस्थ्य वातावरणमा जिउने मानवीय अधिकारको संरक्षणमा चेतना जगाउन थालियो । खासगरी औद्योगिक राष्ट्र र शक्तिराष्ट्रहरुले गर्दा विग्रिएको पर्यावरणीय असरको चपेटामा गरीब र निर्दोष मुलुकहरु पनि नराम्रोसँग परिरहेका छन् । ग्लोवल बार्मिङ्गका कारण समुन्द्र सतहमा भएको बृद्धिले तटिए क्षेत्रमा भएका शहरहरु डुबेर लोप हुने खतरामा परिरहेका छन् भने माल्दिभ्स जस्तो सामुन्द्रिक टापुमा अवस्थित मुलुकको अस्तित्व नै समाप्त हुने अवस्था आउन सक्नेमा बैज्ञानिकहरुले सचेत गराई सकेका छन् ।
सन्दर्भ नेपालको ः
हाम्रो देश नेपाल आफैमा हराभरा र सुन्दर भएकाले प्रकृतिको बरदान नै मानिन्छ । तर यो सुन्दर देश मानवीय क्रियाकलापका कारण विस्तारै कुरुप बन्दै गइरहेको छ । विश्वकै छानोका रुपमा रहेको सर्वोच्च शिखर सगरमाथा देखिलिएर विभिन्न प्रजातिका जडिबुटि, चराचुरुङ्गी, बन्यजन्तु र हरियालीले सजिएको पहाडी भूभाग हुँदै तराईको उर्वर समथर भूमिले देशको भौगोलिक विविधता भित्र सुन्दरता छाएको छ । थुप्रै नदी नाला, ताल तलैया, हिम नदी, हिम ताल, सिमसार बनजंगल जस्ता प्राकृतिक उपहारले जैविक विविधताको संरक्षणमा योगदान पुर्याउँदै आएको छ । अहिले आएर यो सुन्दर प्रकृतिका व्रिmडाभूमी पनि मानवीय अतिक्रमण र विश्वव्यापी तापमान बृद्धिको असरले ग्रसित बन्दै भएको छ । उत्तरतर्फ चाँदीको पर्खाल झैं लहरै उभिएका सेता हिमाल हिँउ विहिन काला पहाड बन्दै गइरहेका छन् । हिमतालहरु फुट्ने क्रम चलिरहेको छ । गत वर्ष यस्तै हिमताल फुट्दा मेलम्ची क्षेत्रमा प्रलय निम्त्याएको थियो । थुप्रै मानवीय र भौतिक क्षति मेलम्चीमा हुन गयो । । तीन दशकको प्रतीक्षा पछि उपत्यकामा आएको खानेपानीको मुहान बाढीले क्षतविक्षत बनाइदियो । हिमताल फुट्ने र तीब्र गतीमा हिँउ पग्लिएर उर्लिएका नदीले विभिन्न ठाउँमा ठूलो क्षति पुर्याएका छन् । भारतको केदारनाथ घाँटीमा यस्तै विनाशकारी बाढी पहिरोको घटना पटक–पटक दोहोरिंदै आएका छन् । जलवायु परिवर्तनका कारण छोटो समयमा हुने अति वृष्टिले मुलुकका विभिन्न ठाउँमा बाढी पहिरोको समस्याले बर्षेनी ठूलो धनजनको क्षति हुने गरेको छ । काठमाडौं उपत्यकामा पनि बर्षेनी बाढीको सामना गर्नु परिरहेको छ । खोला, नालाले चर्चेको भूभाग मानबीय अतिक्रणमा परेर साँघुरिएका कारण पनि वस्तीमा बाढी पस्ने गरेको छ ।
जल प्रदुषण, बायु प्रदुषण, ध्वनि प्रदुषण जस्ता कुराले सिंगो पर्यावरण प्रदुषित बन्ने गरेको छ । प्रदुषणकै कारण नेपालमा बार्षिक ९ हजार भन्दा बढी मानिसको मृत्यु हुने गरेको तथ्य विश्व स्वास्थ्य संगठनले उजागार गरेको छ । २०४६ को परिवर्तनपछि नेपालमा शहरी करणले तीब्रता पाउन थालेको हो । शहरी करण बढे पनि सरकारको ध्यान व्यावस्थित शहर बनाउनेमा केन्द्रित भएन । अति राजनीतिकरण र सत्ता केन्द्रित राजनीतिले विकासलाई पछाडी धकेल्यो । पर्यावरणमैत्री दिगो विकास भन्दा पनि जथाभावि डोजर चलाएर पर्यावरण विनास गरियो । पानीका मूल, धारा, कुवा, बाँसघारी, जंगल जस्ता कुरा डोजर आतंकको शिकार बन्न पुगे । पहाडका परम्परागत जल प्रणालीमा गंभीर असर पुगेकाले एकातर्फ खानेपानीको हाहाकार मच्चियो भने अर्कातर्फ मिलेर बसेको माटो, ढुँगा खोतल्दा, बाढी, पहिरो र भू–क्षयको खतरा देखियो । योजनाबद्ध विकासको अभावमा शहरी फोहोर, ढलको उचित व्यावस्थापन हुन सकेन । खोलामा ढल सिधै मिसाइनाले जलचरहरु प्रदुषणको प्रभावले विनास भए । ३० बर्ष अघिसम्म स्वच्छ रहेको वागमती लगायत उपत्यकाका खोला, नाला प्रदुषणको कारण जलचर विहीन ढल जस्ता बन्न पुगे । काठमाडौं उपत्यकाको ध्वनि प्रदुषण र बायूप्रदुषणको मात्रा पनि तोकिएको मापदण्डलाई मिचेर अगडि गई सकेको छ । बातावरण लामो समयसम्म तुँवालोले ढाक्ने र दुषित हावाका कारण जनस्वास्थ्यमा नराम्रो असर परेको छ ।
काठमाडौं मात्र नभएर मुलुक भरनै नदी छेउमा वसेका शहरका कारण नदी नाला प्रदुषित बनेका छन् । स्वच्छ पानी बग्नु पर्नेमा प्लाष्टिकका बोतल, झोला र अन्य फोहोर कुराहरु तैरिरहेको देखिन्छ । ढल विर्सजन विना प्रशोधन खोलामा गर्ने प्रचलनले प्रदुषणलाई बढावा दिएको छ । तराईका नदी, नालामा ढुँगा, बालुवा, गिट्टीको अत्याधिक उत्खनन गर्नाले कुरुप बन्नको साथै बर्षा याममा बाढीको खतरा बढेको छ । चुरेको अनियन्त्रित दोहनका करण चुरे फेदमा रहेको तराई जल विहीन भएर मरुभूमिकरण तर्फ गईरहेको छ । परम्परागत इनारहरु सुकिरहेका छन् भने भूमिगत जल भण्डार रित्तिएर जमिन धसिने अवस्थामा पुगेको छ । विश्व पर्यटनको आकर्षक गन्तव्यका रुपमा रहेको पोखराको फेवा ताल समेत प्रदुषण र मानबीय अतिक्रमणमा परेर सौन्दर्य गुमाइरहेको छ । वन जंगलमा हुने डढेलो र मोटर गाडीले फाल्ने धुवाँ, उद्योग धन्धाको धुवा र धुलोका कारण बायुमण्डल समेत प्रदुषित रहेको छ । चौतर्फ कोलाहाल र प्रदुषणले गर्दा विश्वमा नेपालको छवि खस्किएर पर्यटन प्रवर्दनमा गम्भीर असर पुगिरहेको छ ।
पर्याबरण संरक्षणको लागि सरकारी स्तरमा नेपालको चासो २०५२ साल देखि औपचारिक रुपमा भएको देखिन्छ । यसैसाल जनसंख्या तथा वातावरण मन्त्रालयको स्थापना भएको थियो । २०५३ सालबाट वातावरण संरक्षण ऐन लागु भएपनि यो केवल ठूला आयोजनाले वातावरणमा पार्ने प्रभावमा मात्र बढी केन्द्रित देखिन्छ । औपचारिकताका लागि वातावरण सम्बन्धी प्रतिवेदन पेश गर्नु पर्ने अनिवार्यता भएता पनि कसैलाई बातावरण प्रतिकुल भनेर रोक्ने गरेको पाइदैन । वातावरण मन्त्रालयले सँच्चिकै वातावरण मैत्री विकासमा ध्यान दिन्थ्यो भने एक लाख भन्दा बढी रुख काट्नु पर्ने निजगढ विमानस्थललाई पक्कै पनि स्वीकृत दिने थिएन । अव पर्यावरण संरक्षणको लागि तीनै तहका सरकारले दरो कदम उठाउने बेला आएको छ । समयानुकुल आवश्यकता अनुसारका ऐन, कानून निर्माण गरी कार्यान्वयन पक्षलाई मजबुत बनाइनु पर्छ । गाउँघरमा भएको डोजर आतंक बन्द गरेर जमीनको योजनाबद्ध ढंगले उपयोग र संरक्षण गरिनु पर्छ । विकासलाई दिगो र पर्यावरण मैत्री बनाइनु पर्छ । बृक्षा रोपण र हरियाली प्रबद्र्धनमा जोड दिनु पर्छ । शहरी सौन्दर्य बढाउन फोहोर मैलाको उचित व्यवस्थापन गरिनु पर्छ । पेट्रोल, डिजेलका सवारी साधनको ठाउँमा विद्युतीय सवारी साधनलाई बढावा दिइनु पर्छ । शहरी क्षेत्रको ढल प्रशोधन गरेर मात्र खोला, नदीमा मिसाइनु पर्छ । प्लास्टिक जन्य फोहोर नियन्त्रण गरिनु पर्छ चुरे संरक्षण, खोला नाला संरक्षण गर्नु पर्छ । सीमसार क्षेत्र, ताल तलैयाको संरक्षण गरिनु पर्छ । पर्यावरण संरक्षणमा उदाहरणीय कार्य गरेर नेपालले विश्वलाई देखाउन सक्नु पर्छ । परम्परागत संस्कृति, मठमन्दिर, गुम्बा, चैत्यको संरक्षण र सर्वद्धन गरी नेपाललाई विश्व पर्यटनको आकर्षक गन्तब्य बनाउन सक्नु पर्छ । विश्वको पर्यावरण संरक्षण र पृथ्वी बचाउने अभियानमा नेपालले अग्रणी भूमिका खेलेर आफ्नो छुट्टै पहिचान बनाउन सक्नपर्छ ।


0 comment