
प्रदिप प्रसाई,
काठमाडौं – सेभेन सिस्टरसका रुपमा चिनिने भारतका पूर्वोत्तर राज्यहरु असम, मणिपुर, त्रिपुरा, नागाल्याण्ड, अरुणाचल, मिजोरम, मेघालय मध्ये मणिपुर तीन महिना देखि अशान्त छ । मणिपुरमा चलिरहेका जातियद्वन्दले डर लाग्दो हिंसात्मक आकार ग्रहण गरिसकेको छ । केन्द्र र राज्य सरकार हिंसालाई रोक्न असफल देखिएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदी मणिपुर केही समयमै शान्त हुने भनिरहेका छन् । तर भारतीय संसद लोकसभाका कांग्रेस लगायत अन्य प्रतिपक्ष दलहरु मोदीको भनाइमा सहमत देखिदैन । मणिपुर घट्नाबारे मोदीलाई बोल्न बाध्य पार्न प्रतिपक्ष दलहरुले मोदी सरकार विरुद्ध अविस्वासको प्रस्ताव समेत ल्याए । प्रस्ताव उपर छलफलको मुख्य विषय बस्तु नै मणिपुर घट्ना बन्यो । छलफलमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा मोदीले तीनघण्टा बढी भाषण दिए । अधिकांश समय उनी राजनीतिक बिषय केन्द्रीत रहे । मणिपुर घटनाबारे दुइ मिनेट पनि बोलेनन् । स्वतन्त्रता दिवसको अवसरमा लालकिल्लाबाट बोल्दै मोदीले मणिपुर द्वन्द चाँडै अन्त्य हुने भने पनि त्यसबारे सरकारले गरिरहेको प्रयास बारे भने केही खुलाएनन् ।
कांग्रेस नेता राहुल गान्धीले भारतीय जनता पार्टीले मणिपुरमा भारत माताको हत्या गरेको संगिन आरोप लगाईरहेका छन् । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले मणिपुरका चेलीहरुको अस्मिता माथि धावा बोलिंदा पनि पिता सरहका प्रधानमन्त्री मौन बसिरहेको भन्दै विधानसभा भित्र केन्द्र सरकार प्रति असंन्तुष्टी पोखेका छन् । मणिपुर विषयलाई लिएर पक्ष प्रतिपक्ष दलहरुले मोदी सरकारलाई घेरिरहेका छन् । तर मोदी सरकार मणिपुर घट्नामा भन्दा बढी निकट दिनमा हुने मध्यप्रदेश, छत्तिसगढ लगायतका राज्यहरुको विधानसभा निर्वाचनमा बढी केन्द्रित देखिएको छ । भारतीय सत्ताको नेतृत्व गरिरहेको भारतीय जनता पार्टी र त्यसलाई मार्गदर्शन गर्ने राष्ट्रिय स्वयंसेवक संघ (आर.एस.एस.) मणिपुर घट्नाबारे विल्कुलै चिन्तित देखिदैनन् । मणिपुरको जातियद्वन्दलाई सबैभन्दा बढी प्रतिपक्ष दल भारतीय राष्ट्रिय काँग्रेसले उघारिरहेको छ । सन् २०२४ मा हुने आम निर्वाचनमा कांग्रेसले मणिपुरलाई मसला बनाएर भाजपालाई घेराबन्दी गर्ने निश्चित छ ।
मणिपुर राज्य संवैधानिक कानुनलाई आधार मानेर मणिपुरले २९ अक्टोवर २०१९ मा भारतबाट स्वतन्त्र भएको घोषण गरेको थियो । लण्डनबाट स्वतन्त्र मणिपुरको छोषण गर्दै सरकार समेत गठन गरिएको र नवगठित सरकारले संयुक्त राष्ट्रसंघमा सदस्यताका लागि निवेदन दिन समेत जानकारी गराइयो । स्वतन्त्र मणिपुरका राजा लेइसेम्वा साना जाओका प्रतिनिधिहरुले एक प्रेस कन्फेरेन्स गरी यस विषयको जानकारी विश्वव्यापी रुपमा गराएका थिए । पत्रकार सम्मेलनका क्रममा स्वतन्त्र राज्य मणिपुरको घोषण गर्ने ऐतिहासिक क्षण भएको बताएका थिए । उनीहरुले यो घोषणा मार्फत अन्तर्राष्ट्रिय समर्थनको अवज्ञा गर्दै भारतले आफ्नो स्वतन्त्र देश मणिपुरलाई भारतमा जवरजस्त गाभेकोमा त्यसको विरोध गर्दै व्रिटिस नरेश चाल्र्ससँग आग्रह गर्दै मणिपुरको स्वतन्त्रताको अनुमोदनको अपेक्षा पनि गरे ।
भाजपा नेतृत्वको भारतीय सरकारले स्वतन्त्र मणिपुरका नेताहरुको विरुद्धमा भारतलाई विखण्डन गरेको भन्दै अदालतमा मुद्धामात्र दायर गरेन बल्कि स्वतन्त्र मणिपुरका रक्षामन्त्री तारेन्गम समर्जितलाई २९ मार्च २०२१ मा इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थालबाट पक्राउ ग¥यो । समर्जितलाई राष्ट्र विखण्डनको आरोप अगाउँदै १ अप्रिलबाट १३ दिन प्रहरी हिरासतमा राख्यो । सन् १९७४ मा बंगलादेश स्वतन्त्रताको अन्दोलनमा मैतेइहरुले सहयोग गरेको भन्दै मणिपुर स्वतन्त्रताका नेताहरु धमाधम पक्राउ परे । मैतेईका नेता विश्वेश्वर प्रसाद सिंहलाई नक्स लाईट भनेर बन्दी बनाइयो । पछि जेलमुक्त भएपछि विश्वेश्वर र उनका साथीहरु सन् १९७५मा चीनको स्वशासित क्षेत्र ल्हासा पुगे । चीनको सहयोगमा गुरिल्ला तालिम लिई सन् १९७८ बाट सशस्त्र संघर्षमा होमिए । ४५ बर्ष लामो मणिपुर स्वतन्त्रताको संघर्षले यतिबेला निर्णयक रुप लिइरहेको विश्लेषण समेत गर्न थालिएको छ ।

मणिपुर उच्च अदालतले गत अप्रिल १९ मा रैथाने मणिपुरे (मैतेई) समुदायलाई अनुसुचित जाति (सेडुअल काष्ट) दर्जाका लागि केन्द्रीय जनजाति मामिला मन्त्रालयमा सिफारिस गरेको थियो । लगत्तै मे को ३ बाट त्यसको विरुद्धमा हिंसा भड्किन सुरु भयो । रैथाने मणिपुरी र अल्पसंख्यक जनजाति कुकी बीचको द्वन्दले हिंसात्मक रुप लिएको हो । यो जातिय हिंसामा ४८ हजार घर नस्ट भएका छन् । ६० हजार मानिसहरु बेघरवार भएका छन् । १५० जना द्वन्दमा मारिएका छन् । ३०० मन्दिरहरु ध्वष्त पारिएका छन् । आश्चार्य के छ भने आसाम राइफल्स र मणिपुर प्रहरी बीच समेत झडप भएको छ । यी दुवै सरकारी सुरक्षा निकाय हुन् । भारतको सुरक्षा इतिहासमा यस्तो घट्ना यस अघि घटेको थिएन ।
भारतको सुन्दर उत्तरपूर्वी राज्य मणिपुर गत मे महिनाको ३ तारिखदेखि अशान्त छ । रैथाने मणिपुरी र अल्पसंख्याक जनजाति कुकी बीचको द्वन्द बढेको छ । हिंसामा १४२ जनाले ज्यान गुमाइसकेका छन् यो त्यहाँको सरकारी तथ्याङ्क हो । विभिन्न सञ्चार माध्यमहरुले दुईसय बढीको मृत्यु भएको दाबी गरेका छन् । ६० हजार भन्दा बढी विस्थापित भएका छन् । साढे पाँचहजार घरधुरीमा आगजनी गरिएको छ । हिंसाको प्रभावमा परेका ५५ हजारभन्दा बढीलाई सरकारले शिविरमा आश्रय दिएर राखेको छ । मणिपुर उच्च अदालतले अप्रिल १९ मा रैथाने मणिपुरी (मैतेई) समुदायलाई अनुसुचित जाति (सेडुअल कास्ट) को दर्जाका लागि केन्द्रीय जनजाति मामिला मन्त्रालयमा सिफारिस गरेपछि जातीय द्वन्द शुरु भएको हो । मणिपुर घट्नालाई लिएर भारतीय संसदका विपक्षी साँसदहरुले मोदी सरकारलाई घरोबन्दी गर्न थानेपछि महिना अघि केन्द्रीय गृहमन्त्री अमित शाह इम्फाल पुगे । बार्ताद्वारा समस्याको समाधान गरिनु पर्छ भन्दै द्वन्द रोक्न आग्रह गरे । तर उनको आग्रहलाई त्यहाँका द्वन्दरत पक्षले कुनै बास्ता गरेनन् । दनदनी दन्किरहेको मणिपुर हेरेर चुपचाप दिल्ली फर्किए उनी । भारतका पूर्वोत्तर राज्यहरुमा मणिपुर अकसर शान्त राज्य मानिन्थ्यो । तर अहिले स्थिति भयावह छ ।

भारतीय सञ्चार माध्यम इण्डियन एक्सप्रेसका अनुसार उपत्यकाका पूर्व र पश्चिम इम्फाल, चुराचन्द्रपुर, ककिचङ र विष्णुपुर तथा पहाडी जिल्लाहरुमा काङपोकपी, टेङनौपाल, शौबल, कमजोङ र चन्देलमा हिसाको सबभन्दा बढी प्रभाव परेको छ । पहाडी क्षेत्रमा कुकीको बसोवास छ, उपत्याकामा मैतेईहरु बस्छन् । केन्द्र र राज्य सरकारले द्वन्दलाई नियन्त्रणमा ल्याउने भरपुर प्रयास भइरहेको दावी गरेपनि मणिपुरमा द्वन्द चर्किएको चर्किएकै छ । लाग्छ मणिपुृरमा ‘ल एण्ड अर्डर’ निस्प्रभावी भएको छ । भारतीय जनता पार्टी नेतृत्वको केन्द्र सरकार समस्या सुल्झाउन उदासिन छ । जातीय द्वन्दको दुस्परिणाम कति भयाबह हुनसक्छ रुवाण्डा, सुडान लगायतका अफ्रिकी मुलुकहरु गवाही छन् । केही समय पछि देखि नै पहाडी राज्य मणिपुर घाँडो हुन पुग्यो । अन्ततः कम्पनी सरकारले मणिपुरलाई विभाजन गरिदियो । कुकी र नागालाई मणिपुरको केन्द्रभन्दा टाढा अर्थात् पहाडी र मैतेइलाई मणिपुरको केन्द्र्र याने इम्फालमा बस्ने व्यवस्था मिलायो । पहिलो विश्वयुद्धताका व्रिटिसले मणिपुरी र नागाहरुलाई आफ्नो सेनामा भर्ना ग¥यो । तर कुक्रीहरु भने सेनामा भर्तिहुन मानेन । त्यसको बदलामा व्रिटिसले सेना पठाएर कुकी विरुद्ध आक्रमण नै गरायो । त्यसपछि कुकीहरु लडाकु बन्दै जंगल पसे । मैतेईहरुको जनघनत्व शहरी क्षेत्रमा बढ्दै गयो ।
दश प्रतिशत जमिन रहेको इमफाल र आसपासमा ५३ प्रतिशत जमिन रहेको क्षेत्रमा २८ प्रतिशत कुकी, नागाहरुको बसोबास छ । भारतको भूमि व्यवस्था ऐन अनुसार मौतेईहरुलाई नागा र कुकी बाहुल्य भूभागमा जमिन खरिद र बसोबास गर्न इजाजत छैन । नागा कुकीलाई भने मैतेई बाहुल्य क्षेत्रमा जमिन किन्न र बसोबास गर्न कुनै पाबन्दी छैन । सक्षम र सम्पन्न भएका कारण सरकारी सेवा र शिक्षामा मैतेईलाई आरक्षण छैन । नागा र कुकीहरुलाई आरक्षणको व्यवस्था गरिएको छ । मैतेईहरु भन्छन् हामी यहाँका आदिबासी हौं, हिन्दु हौं । तर राज्यको सेवा र सुविधाबाट हामी किन बञ्चित छौं? राज्यले हामी माथि किन विभेद गर्छ? यसरी हेर्दा मौतेई कुकी द्वन्दको जरा राज्य शक्ति रहेको स्पष्ट हुन्छ । राजनीतिक रुपमा शक्तिशाली समुदायलाई किन चाहियो जनजातिको दर्जा ? कुकीहरु प्रश्न गर्छन्, विधानसभाको ६० सिट मध्ये ४० सिट मैतेईको कब्जामा छ । अझै कति चाहियो मैतेइहरुलाई आरक्षण कुकीहरु आक्रोस पोख्छन् । नागा र कुकीसरह आरक्षण पाए थप अधिकार सम्पन्न हुने र राज्यका सबै तहमा एकाधिकार जमाउने अभिष्टता पालिरहेका छन् मैतेईहरु ।
सन् १९४७ मा जब भारत स्वतन्त्र भयो तब मणिपुरका बारेमा व्यापक विमर्श शुरु भयो । मणिपुर त्यसबेलासम्म स्वतन्त्र राज्य थियो । मणिपुरमा नागाहरुले अलग देश माग्न थाले । कुकीहरुले देश त होइन राज्य भने अलग हुनुपर्ने माग राखे । मैतेइहरुले आफ्नो पहिचान भाषा र संस्कृतिको रहेकाले संरक्षणको प्रस्ताव अघि सारे । तर यी तीन जातिका अलग अलग प्रस्ताबलाई तत्कालीन जवाहरुलाल नेहरु सरकारले इन्कार ग¥यो । नेहरुसरकारका उपप्रधान एवं गृहमन्त्री सरदार बल्लभ भाई पटेलले मणिपुरमा व्यापक रुपमा सुरक्षाकर्मी परिचालन गरे । सैनिक दमन सुरु गरियो । अन्ततः मणिपुरलाई केन्द्र शासित प्रदेश (युनियन टेरेटोरी) बनाइयो । राष्ट्रपति शासन मार्फत मणिपुरको कन्ट्रोल दिल्लीले ग¥यो । सन् १९७२ मा मात्रै मणिपुरले राज्यको दर्जा पाएको हो । राज्य निर्माणका क्रममा उत्तरपूर्वी अन्य राज्यलाई झै मणिपुरलाई पनि उपेक्ष गरियो । । मणिपुरको इतिहास र त्यहाँका जनताको भविष्य केन्द्र सरकारले नामिट पारेको आरोप त्यसवेला देखि नै लगाइएको हो । जतिबेला केन्द्र सरकारले मणिपुर राज्य बनायो त्यसबेला मैतेई, कुकी दुबै नाराज थिए । हिंसात्मक आन्दोलन चर्किन थालेपछि अहिले मणिपुरमा विगतमा झैं केन्द्र शासित प्रदेशको माग पनि भइरहेको छ । मणिपुर हिंसा जातीयसँगै धार्मिक पनि हो । रैथाने मैतेई हिन्दु हुन् । कुकी र नागा इसाई । मुस्लिम समुदायको पनि मणिपुरमा सानो हिस्सेदारी रहेको छ । भारतले सार्वजानिक गरेको पछिल्लो तथ्याङ्क अनुसार मणिपुरमा हिन्दु र इसाईको जनसंख्या करिब हाराहारी हिन्दु ४१.३९ र इसाई ४१.२९ प्रतिशत छन् । मुस्लिमको जनसंख्या ८.४० प्रतिशत मात्र छ । सन् १८९४ मा मणिपुरमा पहिलो पटक क्रिश्चियन मिसनरी प्रवेश गरेको थियो । मणिपुरका जनजाति बाहुल्य क्षेत्रमा प्रवेश गरी व्यापक रुपमा क्रियश्चियन धर्मको प्रचार गरियो । सन् १९०१ सम्म ८ प्रतिशत रहेको क्रिश्चियन जनसंख्या अहिले २०२३ मा ४१.२९ प्रतिशत पुगेको छ । केन्द्रिय सरकार नै भारतमा हिन्दुजम कायम गर्न उद्यत छ । राष्ट्रिय स्वयंसेवक संघ भारतलाई नै हिन्दुराज्य बनाउने महन्वकाँक्षामा छ । अखण्ड भारत हिन्दु, हिन्दी र हिन्दुत्व सरकारको सपनालाई साकार पार्ने अभियानमा अतिबाद हिन्दुसंगठन सक्रिय छन् । यसलाई विश्वको ठूलो संगठन समेत भन्ने गरिन्छ । भारतीय जनता पार्टी राससकै निर्देशनमा चल्ने गर्छ । धार्मिक द्वन्दका कारण मणिपुरमा हिन्दु, इसाई र मुस्लिमबीच दिनानुदिन दुरी बढ्दो छ । हिंसाको तारो बनेका छन् मन्दिर र चर्च ।
२२ हजार ३ सय २७ बर्ग किलोमिटर क्षेत्रफल रहेको मणिपुर राज्यको जनसंख्या करिब ३४ लाख मिश्रित समुदायको बसोबास रहे पनि मूलतः तीन जाति मौतेई, नागा र कुकीको बाहुल्य छ । तीन समुदाय मध्ये मैतेइ,को जनसंख्या १५ लाख बढी छ । तीन समुदायबीच द्वन्द चलेको पहिले देखि नै हो । एक अर्काको अस्तित्व स्विकार्न नचाहने यी समुहबीचको द्वन्द यसपटक भने सतहमा देखिएको छ । मैतेई र कुकी मिलेरै बसेको इतिहास पाइन्छ । मणिपुर माथि अन्य समुदायबाट हुनसक्ने सम्भावित आक्रमणलाई निस्तेज पार्न कुकी पहरेदार भएर उभिन्थे । इतिहास तिर फर्कंदा मणिपुरमा मैतेई जातिको बर्चश्व थियो । तर यो समुदायले पश्चिमतिर नागा र उत्तरतिर बर्मेलीहरुबाट असुरक्षा महसुस गरिरहेको थियो । बर्मेली र नागाहरुले आक्रमण गरी राज्य हत्याउलान कि भन्ने त्रास उनीहरुमा थियो । यस्तो सम्भवित आक्रमणबाट बाच्न मणिपुरका तत्कालीन राजा जयसिंहले व्रिटिससँग एक सन्धि गरी देश बचाइदिन हारगुहार गरे । बर्मा (म्यान्मार) मा युद्ध लडिरहेको व्रिटिस शासनले एउटा उपाय निकाल्यो । बर्माबाटै ल्याएको एउटा नयाँ समुदायलाई म्यान्मार र मणिपुरको सीमावर्ती क्षेत्रमा बसाल्यो । त्यो अहिलेको अन्दोलनकारी कुकी समुदाय थियो । मणिपुरमाथि अन्य जातिय समुदायबाट हुनसक्ने सम्भावित आक्रमण रोक्न पहेरदारी गर्ने तिनै कुकीहरु अहिले मैतेइको ‘ज्यानी दश्मन’ बनेका छन् । मैतेईले कुकीको ज्यान लिन पछि परेका छैनन् भने कुकीले मैतेईको ।
बर्मा कब्जाका लागि लडिरहेका व्रिटिसहरुले सन् १८२६ मा युद्ध जिते । बर्मा इष्ट इण्डिया कम्पनीको मातहतमा आयो । बर्मासँगै व्रिटेनले मणिपुर पनि कब्जा ग¥यो । राजतन्त्र भएपनि अब राजाले निर्णय गर्न नपाइने भयो । महत्वपूर्ण सबै निर्णय अब इष्टइण्डिया कम्पनीले गर्न थाल्यो । सन् १८९१ पछि कम्पनीले पाँचबर्षे बालकलाई मणिपुरको राजगद्धीमा राखेर शासन गर्न थाल्यो ।
बास्तवमा व्रिटिसको मिस मेनेजमेन्टका कारण मणिपुरको भूगोलमात्र होइन धर्म र संस्कृतिकै विभाजनको विज रोपिएको थियो । इसाई धर्मको बद्दो प्रभावका कारण हिन्दु मैतेइहरु सशंकित बनेका छन् । हिन्दु संस्कृति र धर्म मासिदै गएकोमा मैतेईहरु चिन्तित छन् । कुकीहरुलाई म्यान्मारबाट अबैध रुपमा प्रबेश गरेको आरोप मैतेइले लगाइररहेका छन् । कुकी बसोबास क्षेत्रबाट अबैध लागु पदार्थको कारोवार भइरहेको कुरा पनि सतहमा आएको छ । म्यान्मारको जोभीनेसनल आर्मीसँग कुकीहरुको सँगठन रहेको मैतेईहरुले आरोप लगाइरहेका छन् । मणिपुर हिंसा सुरु भएको करिब दुइ महिनामा झण्डै चार हजार थान हतियार राज्यको ढुकुटीबाट गायब भएका छन् । कुकीहरुको दावी छ आन्दोलन दबाउन राज्यले नै मैतेईहरुलाई हतियार दिएको हो । मैतेईहरुको आरोप छ असम राइफलले हतियार सहयोग गरेर हामी विरुद्ध उक्साई रहेको हो । मणिपुरमा चीन, म्यान्मार हुँदै हतियार आयात हुन्छ । जसमा एके १४ सेमेन, एम १६ राइफल्स पनि छ । जुन कुकी मिलिटेन्स क्षेत्रमा पुग्छ । कुकी अरम्बोई टेङ्गोल र मैतेई लेपुन नामक सशस्त्र समुहको सहयोगमा हिंसा मच्चईरहेको एक अर्काको आरोप छ । २०१७ पछि मणिपुरमा हतियारको लाइसेन्स बेपत्ता रुपमा वितरण गरियो । ८ हजारलाई त हतियार बोक्ने इजाजत नै दिइयो । तिनै हतियारले मणिपुर अहिले रोइरहेको छ ।
मणिपुरमा नेपाली भाषि बसोबासका दुई सय बर्ष पुरानो इतिहास छ । भारतीय गोरखा परिसंघको एक दस्तावेज अनुसार सन् १८२४ ताका मणिपुरका तत्कालीन शासक गम्भीर सिंहले गोर्खा सैनिकको सहयोगमा बर्माबाट भूमि अतिक्रमण गर्न रोकेका थिए । सुवेदार निरंजन क्षेत्री र टंकिन्द्र जित सिंहले मणिपुरलाई अतिक्रमण हुनबाट जोगाएको इतिहास छ । मणिपुरमा ५० हजार बढी नेपाली भाषि छन् । मणिपुरको काङला तोम्बी देखि काङपोकपी सम्मको २५ किलोमिटर क्षेत्र नेपाली भाषी बाहुल्य छ । कालापहाड, तोरीबारी, नुनपानी, मुकुली, चन्द्रमान, सेतीखोला लगायत क्षेत्रमा नेपाली मूलका मानिसहरुको बाक्लो बसोबास छ । हिंसाको चपेटामा नेपाली भाषिहरु पनि परिरहेका छन् ।
मोदी सरकार अखण्ड भारतको भित्तेचित्र संसद भवनमा राख्छ तर राज्यहरु विद्रोही बन्दै जाँदैछन् । मणिपुरमा स्वतन्त्र राज्यको नारा पनि लाग्न थालेको छ । खालिस्तान अन्दोलन चलिरहेको छ । स्वतन्त्र बंगालनो बहस पनि चल्न थालेको छ । जम्मु र कश्मिरमा विद्रोह रोकिएको छैन । दक्षिण भारत भारतीय जनता पार्टी मुक्त भएको छ । भारतीय राज्यहरुलाई रेलको लिकले जोडेको छ, भावनाले होइन । मणिपुर त रेलवे सम्पर्कबाट टाढा छ । मणिपुरमा चलिरहेको हिंसा कहिले रोकिने अनुमान गर्न सहज छैन ।
नेपालमा पनि जातीय राज्यको माग भइरहेको छ । कोशी प्रदेशको नामाकरण पछि जातीय मुद्धा सतहमा आएको छ । मणिपुर हिंसाले बताउँछ जातीय हिंसा कति पीडादायी र भयाबह हुन्छ ।


0 comment