काठमाडौं – बास्तवमा हाम्रो शरीरको छालाको बाहिरी सतह समयसँगै फेरिरहन्छ । एक अध्ययन अनुुसार प्रत्येक बर्ष हाम्रो शरीरबाट करिब ४ किलो छालाको पातलो पत्र नष्ट भइरहेको हुन्छ । यसरी छाला नष्ट भै नयाँ छाला आइरहँदा छालामा बनाइएको टाटु पनि हराउँदै जानु पर्ने हो । तर समय सँगै स्थायी रुपमा गरिएका टाटु छालाको सतहमा हैन कि छाला भन्दा पनि मुनि बिशेष प्रकारका रङ्गहरुले आकृति बनाउने गरिन्छ । हाम्रो देशमा बिशेष गरी नेवार, थारु र मैथली समुदायमा परम्परा कै रुपमा शरीरमा टाटु बनाइने प्रचलन छ । तर आजभोलि विभिन्न समुदायका युवायुवती माझ टाटु निकै लोकप्रिय बन्न थालेको छ ।

गाउँघरमा टाटु बनाउँदा धारिलो र तिखो सियो वा कीलाले छालामा घोपेर रङ्ग छालामुनि पठाउने गरिन्छ भने आधुनिक टाटु स्टुडियोहरुमा विजुलीबाट चल्ने मेसिनका सहायताले टाटु बनाइन्छ । यो मेसिनमा मसिना सियोहरु हुन्छन् र यिनै सियोले छालामा घोप्दै रङ्गको आकृति बनाउने गरिन्छ । टाटुका लागि टिटानियम डाइअक्साईड, आइरन अक्साइड, क्वीनोलीन, न्याप्थोल जस्ता रसायनहरु रङ्गको रुपमा प्रयोग गरिन्छ । 

टाटुलाई हटाउनै सकिंदैन भन्ने चाहिँ छैन । गाउँघरमा परम्परागत रुपमा बनाइएका टाटुहरु हटाउन सबैभन्दा सजिलो हुन्छ किनभने ती टाटुमा प्रयोग भएका रङ्ग कडा खालका हुँदैनन् । कडा रङ्ग प्रयोग गरिएका टाटु हटाउन भने अलि अफ्ट्यारो पर्छ ।