हरि चौधरी,
काठमाडौं – गुरही पर्व पश्चिमी नेपालको तराई भू–भागमा बसोबास गर्ने थारु समुदायहरुले परपूर्वकाल देखि मनाउदै आइरहेको विशेष किसिमको पर्व हो । यसले थारू जनजातिको सांस्कृतिक र सामाजिक महत्त्व राख्छ। यो पर्व साधारणतया नगपञ्चिमीको दिन मनाइने गरिन्छ। यस पर्वमा खेतीपातीको काम सकिएपछि गाउँका केटा र केटीहरुले गाउँबाट टाढा चोकमा गएर धानबालीहरुमा किरा नलागोस् र लागि सकेको किरालाई नष्ट गर्नको लागि ‘गाउने कीरा’ को प्रतिक कपडाको पुतली बनाएर बिसर्जन गर्ने चलन रहि आएको छ । यसरी कपडाले बनाइएको पुतलीलाई नै ‘गुरही’ भनिन्छ ।
गुरहीको दिन बेलुकापख गाउँका नानीहरु आफ्नो पहिरनमा तयार भएर कपडाले बनाइएको गुरही र प्रसाद स्वरुप भुटेको मकै, केराउ, चना आदि ढकियामा लिएर निस्कन्छन् भने बाबुहरु हातमा केराको पात लिएर निस्कने गर्दछन् । यसरी गाउँभन्दा बाहिर निस्केर गाउँको मुखियाले दुबोमा गाँठो पारेर ठाउँ तोकिदिन्छ । त्यस ठाउँमा नानीहरुले कपडाको गुडिया ‘गुरही’ फाल्छन् भने बाबुहरुले केराको पातले उत्त गुडियालाई मार्दछन् । यसरी गुडियालाई मारेको खुसिमा नानीहरुले पालैपालो सबैलाई प्रसाद स्वरुप आफुले लगेको भुजाहरु बाँडेर ‘गुरही’ पर्ब मनाइने गरिन्छ ।
थारू पर्व गुरहीले थारू समुदायको एकता, सांस्कृतिक धरोहर र प्रकृति र कृषिसँगको गहिरो सम्बन्धलाई पनि दर्साउछ । धानको बाला लाग्ने अवसरमा थारू जनजातिलाई उत्साहित हुने मौका पनि प्रदान गर्दछ र उनीहरूको सांस्कृतिक गर्वको अभिव्यक्ति गर्दछ। पर्वको प्रमुख दृष्टिबिन्दुमा परम्परागत नृत्य र संगीत प्रस्तुतिहरु पनि हुन्छन्, जुन मानिसहरु रुचाउँछन् र पर्वले थारू जनजातिलाई एकताको संदेश पनि पुगाउँछ, सांस्कृतिक पहिचान पनि प्रकट गर्दछ।
0 comment