काठमाडौं – हावामा रहेको जलवाष्प पानीको रुपमा परिणत हुने क्रियालाई द्रवीकरण भनिन्छ । यो वाष्पीकरणको विपरीत क्रिया हो । कुहिरो हुस्सु शीत, तुषारो हिउँ बादल तथा असिना पर्नु द्रवीकरणका विभिन्न रुपहरु हुन् असिना दुई किसिमबाट बन्न सक्दछ । वायुमण्डलको धेरै उचाइमाथि वाष्पयुक्त हावाको ताप हिमाङ्कभन्दा कम भयो भने त्यसमा रहेको जलवाष्प सानासाना हिउँका कणमा द्रविभूत हुन्छन् यस्तो हिउँको कणमा लगातार अर्को हिउँको कणहरु थपिँदा त्यो ठूलो हुन्छ । ठूलो  भएपछि स्वभावतः यो गह्रौं हुन जान्छ र वायुमण्डलले थेगी राख्न नसकेर ती पृथ्वीमा हिउँको डल्लाका रुपमा खस्दछन् । त्यसलाई हामी असिना भन्दछौं । 

असिना बन्ने यो एउटा तरिका भयो । कहिलेकाहीँ धेरै उचाइबाट पानीका थोपाहरु खस्दा बीच बाटोमा अत्यन्तै चिसो वायुको तहलाई पनि छिचोलेर खस्नुपर्दछ । त्यस्तो बेलामा पानीका थोपाहरु जमेर पनि असिना बन्दछन् । यो विशेष गरेर जोडसँग  आँधी चल्ने बेलामा हुन्छ ।