बास्तवमा कुनै पनि मूलको पानी जाडोमा न्यानो र गर्मीमा चिसो हुने होइन । मौसम अनुसार मूलको पानीको तापक्रममा त्यति धेरै अन्तर आउँदैन, सामान्यतया  यसको तापक्रम बर्षै भरी करीव करीव एके रहन्छ । त्यसो भए प्रश्न उठ्छ जाडोमा मुलको पानी न्यानो र गर्मीमा ठण्डा किन भएको ? खास कुरो के हो भने जाडो र गर्मी याम भनेर जुन हामी भन्छौं त्यसको कारण मौसम हो । मौसमको प्रभाव पृथ्वीको सतहमा र वायुमण्डलमा बढी हुन्छ ।

पृथ्वीको भित्री सतहमा मोसमले त्यस्तो खास कुनै असर ल्याउँदैन । अब कुरो के हुन्छ भने जाडो मौसम तिर वायुमण्डलको तापक्रम घट्छ र घाम पनि कलिलो हुन्छ । यसकारण पृथ्वीको सतहमा बस्ने हामी सबैलाई चिसो भैरहेको हुन्छ । यस्तो वेलामा पृथ्वी भित्रबाट आाउने मूलको पानीको तापक्रममा कुनै अन्तर नआउँदा स्वभावत त्यो वाहिरको तापक्रम भन्दा केही बढी नै हुन्छ । यस कारण त्यतिखेर हामीलाई मूलको पानी न्यानो लाग्छ ।

अब गर्मीमा त्यही मूलको पानी हामीलाई चिसो  चिसो अनुभव हुन्छ किनभने त्यतिखेर बाहिरको तापक्रम मूलको पानीको तापक्रम भन्दा अपेक्षाकृत बढी भैरहेको हुन्छ । त्यसकारण बढी तापक्रममा बस्ने मानिसले कम तापक्रमको पानी छुंदा चिसो अनुभव त हुने नै भो ।