काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको राजीनामा आएपछि मात्रै संसद‍्को अवरोध हट्ने बताएका छन्। 

ओलीले एमालेका कारण नभई प्रधानमन्त्रीका कारण संसद बन्द भएको बताए । ओलीले सदन सञ्चालन गर्न आफूहरू सकारात्मक भएपनि एमालेमाथि लगाइएको गम्भीर आरोपहरू फिर्ता नभएकाले सहमत हुन नसकेको जिकिर गरे । त्यस्तै ओलीले प्रधानमन्त्रीको असार २१ गतेको वक्तव्यप्रति गम्भीर आपत्ती रहेको बताए । 

प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर एमालेसहित रास्वा र राप्रपाले राजीनामा माग गर्दै निरन्तर प्रतिनिधी सभा र राष्ट्रीय सभाका बैठकमा अवरोध गरेपछी प्रधानमन्त्रीको सचिवालयले विज्ञप्ति जारी गर्दै अभिव्यक्तिलाई लिएर प्रधानमन्त्रीको राजीनामा मागिनु भ्रष्टाचार र जनताका पक्षमा सञ्चालित अभियान रोक्ने मनसाय रहेको बताएको थियो। सम्बन्धको गहिराइलाई व्यक्त गर्न गरिएको भावानात्मक अभिव्यक्तिलाई बंगाएर अतिसयोक्तिपूर्ण राजनीतिकरण गर्नु आफैमा निरर्थक र दुखद् रहेको विज्ञप्तिमा उल्लेख थियो।

यसअघि आइतबार नै सिंहदरबारमा सदनको गतिरोध अन्त्य गर्ने विषयमा कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष दलको बैठक बसेको थियो।

यसैबिच, नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले पटक पटक सदन अवरुद्ध गरेर एमालेले नयाँ रेकर्ड कायम गर्न खोजेको टिप्पणी गरेका छन्।

दाहालले सदन अवरुद्ध गर्दा नीति नियम बनाउने काम नै अवरुद्ध भएको भन्दै साना साना कुरालाई लिएर सदन अवरुद्ध गर्ने काम सधैँका लागि बन्द गर्नुपर्ने बताए। उनले एमाले सकारात्मक भए मिटरव्याजसम्बन्धी कानुन छिटै अघि बढ्ने जिकिर गरे।