काठमाडौं – प्रमुख प्रतिपक्षी दल एमालेसहित राप्रपा र रास्वपाले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा नआएसम्म संसद् चल्ने नदिने अडान राखेपछि सोहि विषयमा छलफल गर्न बालुवाटारमा सत्तारुढ दलको बैठक बसेको छ ।

बिहीबार बिहान बालुवाटारमा सरकारमा सहभागि ७ दलको बैठक जारी रहेको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।

सत्तारुढ दलको बैठकमा प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, जसपा अध्यक्ष उपेन्द्र यादव, नेकपा एसका उपाध्यक्ष राजेन्द्र पाण्डे, लोसपा अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष सिके राउत लगायतका शीर्ष नेताहरुको सहभागी रहेको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह पटक–पटक दिल्ली गएको भन्ने अभिव्यक्ति लिएर एमालेले राष्ट्रियसभा बैठक अवरोध गरेको थियो । यस्तैगरी बुधबार संसद बैठकमा एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्री दाहालले देशको स्वाभीमानमा आँच आउने गरि खेदपूर्ण अभिव्यक्ति दिएको विषय गम्भीर रहेको बताएका थिए । उनले भने, यो प्रधानमन्त्रीको निजी विषय होइन । भारतको इसारामा प्रधानमन्त्री बनेको भन्ने अभिव्यक्ति सामान्य कुरा होइन । प्रधानमन्त्रीको यो अभिव्यक्तिले नेपालीको भावनामा आघात पुगेको छ । त्यसैले प्रधानमन्त्री दाहालले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग समेत गरेका छन् ।