काठमाडौं - राष्ट्रिय सभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को राजीनामा माग गरेका छन् ।
प्रधानमन्त्री दाहालको अभिव्यक्तिलाई लिएर एमाले सांसदहरूले बैठक सुरू हुनेवित्तिकै राजीनामा माग गरेका हुन्। आजको बैठकमा विनियोजन विधेयकमाथि छलफल हुने कार्यसूची थियो। एमाले सांसद देवेन्द्र दाहालले प्रधानमन्त्रीको अभिव्यक्तिले देशको गरिमामा आँच पुर्याएको बताए।
दाहालले भने, ‘गत असार १८ गते भारतीय नागरिक प्रीतम सिंहको जन्म दिनको अवसरमा उनकी छोरीको पुस्तक विमोचमा प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिलाई लिएर देशव्यापी विरोध भइरहेको छ । हाम्रो देशको प्रधानमन्त्री कसले नियुक्ति गर्छ ? प्रीतम सिंहले आफुलाई प्रधानमन्त्री बनाउन भूमिका खेलेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तिजनक छ । प्रधानमन्त्रीज्यूले जवाफ नदिँदासम्म बैठक सञ्चालन हुन दिँदैनौं।'
उनले भारतको इसारामा चल्ने प्रधानमन्त्री स्वीकार्य नहुने बताए।
एमालेले अवरोध कायम राखेपछि राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक ३ बजेर १ मिनेटसम्मका लागि स्थगित गरेको घोषणा गरे।
प्रधानमन्त्री दाहालले सोमबार आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रीतम सिंह पटक पटक दिल्ली धाएको अभिव्यक्ति दिएका थिए।
त्यसैगरी, नेकपा एमालेले प्रतिनिधि सभाको बैठक पनि प्रधानमन्त्रीसँग जवाफ माग्ने भएको छ। नयाँ बानेश्वरस्थित संसद् भवनमा दिउँसो ३ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा एमालेले अवरोध गर्ने तयारी समेत गरेको छ। संसद बैठक अगाडि बसेको एमालेको संसदीय दलको बैठकमा प्रचण्डले जनादेशको अपमान गरेको र पदमा बसिरहने राजनीतिक र नैतिक अधिकार गुमाएको निष्कर्ष निकालेको छ।
एमाले सचेतक महेश बर्तौलाले भने,‘प्रधानमन्त्री पुष्पकमल दाहालले यो देशमा प्रधानमन्त्री बन्न दिल्लीले हाबी हुन्छ भन्ने भाष्य स्थापना गर्नुभयो, यो विषयमा हामी संसदमा उठाउँछौं। यो सामान्य विषय होइन। हामी बेखबर भएर बस्न सक्दैनौं।’
प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा पनि चर्को आलोचना भइरहेको छ।
बोल्दै नबोलेको कुरामा विपक्षीले बबण्डर मच्चाए : प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने आफूले बोल्दै नबोलेको विषयमा एमालेले पूर्वाग्रही धारणा राखेको बताएका छन्।
प्रधानमन्त्री दाहालले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रीतम सिंह पटक–पटक दिल्ली गएको भन्ने विषयमा अनरगल प्रचार गरेर प्रतिपक्षले बबण्डर मच्चाएको स्पष्ट पारे।
दाहालले भने, ‘म आज सुन्दैछु एउटा सिको किताब बिमोचन गर्दै गर्दा मैले बोलेको कुरामाथि टिकाटीप्पणी भइरहेको छ । उनले बोलेको कुरा मैले बोलेको मेरो कुरा होइन । मैले भने उहाँ सामाजिक सेवा र यातायात क्षेत्रमा मात्रै होइन राजनीतिमा पनि चासो राख्नुहुन्छ । मलाई प्रधानमन्त्री बनाउन कहिले कहाँ कहिले कहाँ पुग्नुहुन्छ । कहिले दिल्ली कहिले नेपालका मान्छेसँग लाग्नुहुन्थ्यो उहाँ । उहाँको बारेमा भनेको कुरालाई अब त्यसलाई उचालेर फेरि एकचोटी बबण्डर गर्न खोजिएको छ । मलाई लाग्छ त्यो बेलुन पनि छिट्टै फुट्नेवाला छ । त्यसले केहि दिनेवाला छैन । यसबाट विपक्षीहरुमा कति धेरै पूर्वाग्रह छ भन्ने देखिन्छ । तर, पनि हामी दृढताका साथ हाम्रो मिसनमा अघि बढेका छौं । '
नेपालमा पहिलो पटक ट्रक ल्याएका सरदार समुदायका प्रितम सिंहमाथि किरणदीप सन्धुले लेखेको पुस्तक ‘रोड्स टु द भ्यालीः द लिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल’ विमोचन कार्यक्रममा दाहालले आफूलाई प्रधानमन्त्री बनाउन व्यवसायी प्रीतम सिंहले धेरै मिहिनेत गरेको र दिल्लीसमेत धाएको बताएका थिए ।
के भनेका थिए प्रचण्डले ?
सोमबार साँझ पुस्तक विमोचन समारोहमा प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन प्रीतम सिंह धेरैपटक दिल्ली गएको बताएका थिए। उनले भनेका थिए, ‘यो यातायात, सामाजिक सेवा, शिक्षाको क्षेत्रमा मात्रै होइन उहाँ राजनीतिमा पनि रुची राख्नुहुन्छ। उहाँले एकपटक मलाई प्रधानमन्त्री बनाउन धेरै मेहनत गर्नुभयो। धेरैचोटी दिल्ली जानु पनि भयो। काठमाडौँका पार्टीहरुलाई, नेताहरुलाई पार्टीहरुसँग पनि उहाँ लगातार छलफल गर्नुभो। उहाँ राजनीति सफा भयो भने मात्रै देश विकास राम्रो हुन्छ भन्ने विश्वास पनि गर्नुहुन्छ। म शान्ति प्रक्रियामा आएदेखि नै धेरै नजिकबाट, हुन त हाम्रो कमरेड पम्फा भुसाल हुनुहुन्छ उहाँको नजिकै घर भएका हुनाले पनि लगातार अन्तर्क्रिया, सहकार्य हुने गर्यो। र हामीले नजिकबाट एक अर्काले चिन्ने, बुझ्ने र महसुस गर्ने पनि गर्यो।’
0 comment