काठमाडौं - परराष्ट्रमन्त्री एनपी साउदले नेपालको भूभाग डुबान हुने गरी भारतले निर्माण गरिरहेको संरचनाकाबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जानकारी गराएको बताएका छन्। 

शनिबार डडेल्धुरामा आयोजित पत्रकार सम्मेलनमा उनले भने, 'भारतका प्रधानमन्त्रीले पहिलोपटक सीमा लगायतका मुद्दाहरु वार्तामार्फत समाधान गरिनेछ भनेर भन्नुभएको छ। भारतले नेपालको भूभाग डुबान हुनेगरि महाकाली नदिमा निर्माण गरिरहेको संरचनाका बारेमा पनि हामीले जानकारी गराएका छौं।'

उनले भारतीय सीमा सुरक्षा बल(एसएसबी)ले कञ्चनपुरका सीमावर्ती क्षेत्रका नागरिकलाई दिइरहेको दु:खका बारेमा पनि भारतीय पक्षलाई जानकारी दिएको बताए। 

उनले डडेल्धुराको परशुरामको शिर्ष र बैतडीको झुलाघाटमा निर्माण हुने पक्की पुलको काम ६ महिनाभित्र सुरु हुने बताए।

साउदले अहिलेको सत्ता गठबन्धन नभत्किने प्रष्ट पारे। उनले बजारमा आएको हल्लाअनुसार एमालेसँग मिल्ने कुनै सम्भावना नरहेको समेत उल्लेख गरे।