काठमाडौं - विवेकशील साझा पार्टीले नेपालको गौरवमय सांस्कृतिक मानचित्र सार्वजनिक गरेको छ।

अखण्ड, स्वायत्त एवं सार्वभौम नेपालको गौरवमय इतिहास झल्काउँदै नयाँ पुस्तामा देशभक्तिको भावनालाई आत्मसात गराई धरातलीय यथार्थ बुझाउन भन्दै विवेकशील साझा पार्टीले शुक्रबार ललितपुरस्थित पार्टी कार्यालयमा सांस्कृतिक मानचित्र सार्वजनिक गरेको हो। 

हालै भारतले आफ्नो नयाँ संसद भवनमा कपिलवस्तु, लुम्बिनीजस्ता नेपालका ऐतिहासिक भूभागलाई समेटेर बनाइएको अखण्ड भारतको नयाँ नक्साप्रति नेपाल सरकारले औपचारिक खण्डन नगरेको र कूटनीतिक नोटसमेत पठाउन नसकेको बेला विवेकशीलले सरकारले निर्वाह गर्नु पर्ने दायित्व स्मरण गराउँदै नेपालको सांस्कृतिक मानचित्र सार्वजनिक गरेको बताएको छ।

नेपालको सुगौली सन्धी अगाडीको भू-भाग र वर्तमान भू-भागमा रहेका सांस्कृतिक, धार्मिक, पुरातात्विक र प्राकृतिक धरोहरहरूलाई समेटेर निर्माण गरिएको मानचित्रमा सगरमाथा, बौद्ध स्तुपा, पशुपतिनाथ, काँक्रेविहार जस्ता पुरातात्विक महत्वका सम्पदा समेटिएका छन्।