काठमाडौं - प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अघिल्लो सरकारले ल्याएको बजेट फेल भएको दाबी गरेका छन्। बजेटमाथि भएको छलफलमा मंगलबार बोल्दै उनले तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले ल्याएको बजेटले लड्‍डु ल्याएको बताए।

'अर्थमन्त्राल विश्वास गर्न लायक रहेन। हामीले गत वर्ष नै देख्यौं। तमासा भयो। तमासा भएपछि यसपटक बेठिक भएको रहेछ, बेठिक स्वीकारिन्छ। आइन्दा यस्तो बेठिक गरिँदैन भनेर सरकारले भन्नसक्यो? सकेन,' उनले भने, 'ठीक गर्‍या छौं हामीले। कोही पनि गएको छैन। भित्र बस्दै निस्केको हो। बसेकै छैन। बसेको भए पनि त्यहाँ सुतेको छैन। सुतेको भए पनि खाएको छैन। खाए पनि सबै गरे पनि बजेट हेर्या छैन। हेरेको भए पनि लेख्या छैन। यस्तो तर्क, बलजफ्ती गर्ने पनि हद हुन्छ नि?'

उनले सत्ता पक्षले बलजफ्ती पास गराएर बहुमतको दम्भ देखाएर पेलेको आरोप लगाए। 'पोर त पास भो परिणाममा, बजेट पास भो कि फेल भो हजुर? सोध्न चाहन्छु बजेट पास भो कि फेल भो? मैले भनेको थिएँ। म आज सोध्दैछु सत्तापक्षलाई। कागजमा पास भयो। व्यवहावर फेल भयो।  फेलमात्र होइन। लड्डु ल्यायो लड्डु। बिलो फोर्टी होइन, जिरो भनेको लड्डु,' उनले भने। 

त्यस्तै, ओलीले अर्थतन्त्र ओरालो लागेसँगै कृषि क्षेत्र डामाडोल हुने निश्चितजस्तै भएको बताए। 

'कृषि डामाडोल हुनेवाला छ। यो एकछिन सत्तापक्षमा बसेर ढ्यापढ्याप गरेजस्तो विषय होइन मान्यज्यूहरू। गतगर्ष ८ प्रतिशतले उत्पादन वृद्धि भन्दाखेरी धेरै टेबुलहरूको रङ उडेको थियो। ठठ्याउँदा-ठठ्याउँदा अहिले २ प्रतिशत पनि आर्थिक वृद्धिदर छैन।  मैले यही बोलेको थिएँ । यो एकछिनको विषय होइन।

ओलीले प्रतिपक्षले देशकै लागि कुरा उठाए पनि खिल्ली उडाएको भन्दै आक्रोश व्यक्त गरे। उनले भने,'देशका लागि भन्दा पनि सत्तापक्ष र प्रतिपक्ष भनेर मात्रै हुन्छ। प्रतिपक्षले देशकै लागि कुरा उठाए पनि खिल्ली उडाउनुपर्ने।' 

उनले एक वर्षमा गठबन्धनको मजाक उडेको बताए।

त्यसैगरी, ओलीले बजेटमा गाँजा खेतीलाई प्रोत्साहन गर्ने सरकारले नीति लिएपछि गाँजा खेती कसले गर्न चाहेको भनेर प्रश्न गरेका छन्।

'कसका लागि गाँजा खेती। कसले गर्न खोजेको छ गाँजा खेती। कोही छ गाँजा खेतीको पछाडि,' उनले भने, 'यो नियन्त्रित र नियोजित हो। लाइसेन्स लिएर गरेको रहेछ भनेमात्रै हो नभए झ्यालखाना जान्छ। जनताका गाँजा खोजी खोजी उखेलिन्छ।'

उनले जनताले कहाँ गाँजा खेती गरेको भन्दै प्रश्न गरे। उनले गाँजा खेतीको व्यापारीको खोजीसमेत गरे। 'गाँजाको बिउ लिएर बसेको व्यापारी को हो? बाहिरै आउँदैन। खैर कोही होलान्,' उनले भने।

उनले जनताका कुराभन्दा फेन्सी कुरा किन बजेटमा आउँछन् भन्दै सरकारको ध्यनाकर्षण गराए।