काठमाण्डौँ – अफ्रिकी देश चाडमा दुई समूह बिच झडप हुँदा १० जनाले ज्यान गुमाएका छन् । 

राजधानी एनजामेनाबाट ६ सय किलोमिटर दक्षिणपूर्वमा गाई गोठाला र किसानबीच झडप हुँदा १० जनाको ज्यान गएको हो । 

चाड, क्यामरुन र मध्य अफ्रिकी गणतन्त्रको उर्बर सीमा क्षेत्रमा प्रायः घुमन्ते गोठाला र त्यहाँ बसोबास गर्ने किसानबीच झडपका घटना हुँदै आएका छन् । यस्ता घटनाको मुख्य कारण खेतबारीमा लगाएको बालीमा बस्तुभाउ चराउँदा हुने गरेको छ ।

हत्यामा संलग्न आरोपीहरुलाई पक्राउ गरिएको स्थानीय गभर्नरलाई उद्धृत गरी समाचार संस्था एएफपीले जनाएको छ । 

गएको बिहीवार एक १२ वर्षीय गोठालाले आफ्ना गाईबस्तुलाई किसानको बदाम रोपेको खेतमा लगेपछि विवाद सुरु भएको थियो । विवादपछि झडप हुँदा उनको ज्यान गएको थियो । त्यसपछि ज्यान गुमाउनेका आमाबाबुले बदला लिन नौ जना किसानको हत्या गरेका खबरमा उल्लेख छ ।

गोठालाहरूले आफ्ना गाईबस्तुहरूलाई बालीमा छाडिदिने गरेको आरोप किसानले लगाउने गरेका छन् । तर गोठालाहरूले त्यहाँ आफ्ना बस्तुभाउ चराउनु परम्परागत अधिकार भएको दाबी गर्दै आएका छन् ।