काठमाडौं - नेपाल बार एसोसिएसनले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई पक्राउ गरिएको घटनाको विरोध जनाएको छ।
बारका प्रवक्ता एवं महासचिव वरिष्ठ अधिवक्ता केदार कोइरालाले जबराको गिरफ्तारी संविधान र कानुनी शासनको विपरीत स्वेच्छाचारी भएको बताएका छन् । कोइरालाले भने,‘सुरक्षा थ्रेटका नाममा गरिएको गिरफ्तारी स्वेच्छाचारी हो। नेपाल बार यस्ता स्वेच्छाचारी गिरफ्तारीको विरोध गर्दछ।’
प्रहरीले जबरालाई जेन्जीबाट सुरक्षा थ्रेट भएकाले नियन्त्रणमा लिएको दाबी गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले महाराजगन्जस्थित निवासबाट राति ३ बजे जबरालाई नियन्त्रणमा लिएकोमा १२ घण्टापछि आज दिउँसो परिवारको जिम्मा लगाएर छाडेको छ । उनलाई जे जस्तो भनेर नियन्त्रणमा लिएर छाडे पनि त्यसले संविधान र कानुनी प्रश्न खडा गरेको छ ।
सरकारविरुद्ध चलखेल गरेको आशंकामा प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशनमा पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरीले नियन्त्रणमा लिएको बुझिएको छ। पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओलीसँग जबराको बारम्बारको भेटवार्तालाई सरकारले सूक्ष्म रुपमा नियाल्दै आएको छ ।
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भई स्वदेश फर्किएका प्रधानमन्त्री शाहले अन्य निकायलाई सुईको नदिई सिधै प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालय मार्फत जबरालाई राति नै नियन्त्रणमा लिएर चलखेलका विषयमा सोधपुछ भएको बुझिएको छ ।


0 comment