काठमाडौं - नारायणी नदीको बहाव उच्च भएपछि पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । नदीमा पानीको सतह बढेपछि चितवन र नवलपरासी (बर्दघाट-सुस्तापूर्व) जोड्ने पूर्वपश्चिम राजमार्गको नारायणी पुलमाथि ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ ।
आज दिउँसो केही समयका लागि पुलमा पूर्ण रूपमा सवारीसाधन सञ्चालनमा रोक लगाइएकामा अहिले मोटरसाइकललाई मात्र छोडिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट-सुस्तापूर्व) का सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक अनिल पण्डितले जानकारी दिए । पुल पुरानो भएको र अत्यधिक हल्लिएपछि सवारीसाधन पूर्ण रूपमा रोक लगाइएको उनले बताए ।
सम्भावित जोखिम न्यूनीकरण गर्ने उद्देश्यले पुलमाथि रोकिएर पैदलयात्रीलाई तस्बिर, श्रव्यदृश्य सामग्री खिच्न रोक लगाइएको पण्डितले जानकारी दिए । उनका अनुसार नवलपुरबाट चितवनतर्फ जाने मोटरसाइकल बाहेकका सवारीसाधनलाई गैँडाकोटमा र नवलपुरतर्फ आउने सवारीसाधनलाई चितवनको नारायणघाटमा रोकिएको छ । नदीमा पानीको बहाव घटेपछि सवारीसाधन पूर्ण रूपमा सञ्चालन गर्न दिइने प्रहरी नायब उपरीक्षक पण्डितले बताए ।


0 comment