काठमाडौं - नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एकजना पक्राउ परेका छन् । 

फरार सूचीमा रहेकी लक्ष्मी महर्जनलाई प्रहरीले पक्राउ गरी आजै अदालतमा उपस्थित गराएको छ । 

आजबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएर बयान लिन सुरु गरिएको हो ।सबैको बयान सकिएपछि थुनछेक बहस हुनेछ। त्यसका लागि दुईसाता लाग्ने अनुमान गरिएको छ । थुनछेक बहसमा आरोपितहरूलाई धरौटीमा छोड्ने कि थुनामै राख्ने आदेश हुनेछ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध बुधबार काठमाडौं जिल्ला अदालतमा अभियोजनपत्र दायर भएको थियो । उक्त प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण,एमालेका सचिव टोपबहादुर रायमाझी, सचिव टेकनारायण पाण्डे लगायतलाई प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ परेकामाथि ठगी, संगठित अपराध, लिखत कसुर, राज्यविरुद्धको कसुर र एकीकृत कसुरमा अभियोजन दायर गरिएको छ । उनीहरूमाथि २८ करोड ७४ लाख ७४ हजार पाँच सय रुपैयाँ बिगो माग समेत गरिएको छ ।