काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा यसपटक भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलका लागि भारतसँग नयाँ हवाई रुटको प्रस्तावमा जोड दिने तयारी भएको छ। 

परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा उठाइने एजेन्डाको गृहकार्य भइरहेको र त्यसमध्ये नयाँ हवाई रुट प्राथमिकतामा पर्नेछ। नेपालले पटक–पटक यस विषय उठाए पनि भारतले ठोस निर्णय दिन सकेको छैन। यस्तै १३६ किलोमिटर काठमाडौं–रक्सौल रेलमार्ग, ऊर्जा सम्झौता (विद्युत् व्यापार र हाइड्रो कम्पनी), सीमा समस्या, ई–वालेटलगायत विषय प्रधानमन्त्रीको भ्रमणको एजेन्डामा राखिएका छन्। 

परराष्ट्र मन्त्रालयले भारत भ्रमणका लागि विभिन्न मन्त्रालयबाट एजेन्डाका विषयमा छलफल गरिसकेको छ। परराष्ट्र मन्त्री एनपी साउदले आफ्नै अगुवाइमा प्रधानमन्त्री कार्यालय, अर्थ, वाणिज्य, ऊर्जा, भौतिक, रक्षा, पर्यटन र कृषि मन्त्रालयका प्रतिनिधिसँग एजेन्डाबारे छलफल गरिसकेका छन्। 

तेस्रोपटक प्रधानमन्त्री बनेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जेठ १७ गतदेखि २० गतेसम्म भारतको भ्रमण गर्ने तयारी भइरहेको छ। परराष्ट्र मन्त्रालय, नेपालस्थित भारतीय दूतावास, भारतमा भएको नेपाली राजदूतावास भ्रमणको तयारीमा जुटेका छन्। परराष्ट्र मन्त्रीमा साउद नियुक्त भएसँगै भारतको विदेश मन्त्रालयले प्रधानमन्त्री दाहाललाई भारत भ्रमणका लागि निमन्त्रणा दिएको थियो।

यसैबिच, अन्तर्राष्ट्रिय जहाजका लागी नयाँ हवाई रुट स्वीकृतिको सम्बन्धमा नेपाल र भारतबीच वार्ता भइरहेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण र एयरपोर्टस् अथोरिटी अफ इन्डियाका पदाधिकारीबीच भारतमा वार्ता भइरहेको हो।

नेपालका तर्फबाट मन्त्रालय सहसचिव बुद्धिसागर लामिछाने, प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहितको प्राविधिक टोली नयाँ हवाई रुटको सम्बन्धमा भारतसँग सहमतिका लागि वार्तामा रहेको प्राधिकरणले जानकारी दिएको छ। 

बुधबारदेखि भारतमा जारी वार्तामा बिहीबार पनि छलफल भएको छ। मुख्यतया पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि भैरहवा, नेपालगञ्ज र वीरगन्जको इन्ट्री प्वाइन्ट स्वीकृतिको सम्बन्धमा भारतसँग छलफल भइरहेको छ। अहिले अन्तर्राष्ट्रिय विमानहरू सिमराबाट मात्रै नेपाल छिर्छन्।

यस्तै, भैरहवामा अवतरणका लागि आवश्यक उपकरणमा आधारित अत्याधुनिक प्रणाली (इन्स्टरुमेन्ट ल्यान्डिङ सिस्टम) प्रयोग गर्दा भारतीय एयर स्पेस छुने हुँदा यसका लागि भारतसँग दुबै राष्ट्रले प्रयोग गर्न मिल्ने साझा सम्झौता (कमन युज अफ एयरस्पेस) को सम्बन्धमा पनि छलफल भइरहेको छ। धावनमार्गमा जडान गरिएको आइएलएसले खराब मौसम, कम दृश्यता, अँध्यारोको समयमा पनि सहजै जहाज अवतरणका लागि मदत गर्छ। आइएलएस प्रयोगमा भारतले असहमति जनाउँदै आइरहेको छ।

साथै, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बाह्य उडान हुन नसकिरहेको अवस्थामा इन्ट्री प्वाइन्ट भैरहवा, नेपालगञ्ज या अरू गर्ने सम्बन्धमा पनि छलफल भइरहेको छ। सिमराबाट मात्रै जहाज छिर्दा २० देखि २५ मिनेट बढी लाग्ने र संचालन खर्च बढ्ने हुँदा अन्तर्राष्ट्रिय विमान कम्पनीले चासो नदिएको प्राधिकरणले बताउँदै आएको छ। 

नेपालले दशकदेखि नै भैरहवा, महेन्द्रनगर, नेपालगन्ज र जनकपुरको आकाश प्रयोग गर्न मिल्ने नयाँ हवाई प्रवेश मार्गको लागि भारत सरकारसँग छलफल गर्दै आएको छ। नेपाल–भारतबीच हुने कुनैपनि किसिमका उच्चस्तरीय भेटवार्तामा नयाँ हवाइमार्गको सम्बन्धमा छलफल हुने गरेको छ। महेन्द्रनगर हवाई इन्ट्री प्वाइन्टका लागि भारत सकारात्मक रहेपनि सुरक्षाका कारण देखाउँदै भैरहवाका लागि भारत सकारात्मक नदेखिएको बुझिएको छ। 

तर, भारतले हालसम्म नयाँ रुटको विषयमा निष्कर्षसहितको निर्णय भने दिन सकेको छैन। यसले गर्दा भैरहवा, महेन्द्रनगर, नेपालगन्ज र जनकपुरको आकाश प्रयोग गरी जहाज नेपाल भित्र्याउने सरकारको योजना अलपत्र पर्दै आएको छ।