काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका आरोपितहरूको आजदेखि जिल्ला अदालत काठमाडौंमा बयान सुरू हुने भएको छ । अहिले सम्म नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध मुद्दा दायर भएको छ भने नक्कली भुटानी शरणार्थी प्रकरणमा १६ जना पक्राउ परी सकेका छन् ।
उनीहरूविरुद्ध ठगी, सरकारी लिखित कीर्ते, संगठित अपराधको कसुर, राज्यविरूद्धको कसुर र एकीकृत कसुरवापत डेढी साजय गरी पाँचवटा छुट्टाछुट्टै मुद्दा लगाइएको छ । जसमा २४ वर्ष कैद सजाय माग गरिएको छ । उनीहरूविरुद्ध २८ करोड ८४ लाख ७४ हजार पाँच सय बिगो माग गरिएको छ ।
प्रहरीले शरणार्थी प्रकरणमा विभिन्न समयमा पक्राउ परेका माथि अनुसन्धान गरी प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाएको थियो । प्रहरीले गत चैत १२ देखि अनुसन्धान सुरु गरेको थियो ।
यस प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाँण, नेकपा एमालेका सचिव एवं सांसद टोपबहादुर रायमाझी, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, हज समितिका अध्यक्ष शमशेर मियाँ, पूर्वसभासद आङटावा शेर्पा पक्राउ परेका छन् ।
त्यस्तैगरी सोही प्रकरणमा खाँणका स्वकीय नरेन्द्र केसी, सन्दीप रायमाझी, केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टंक गुरुङ, गोविन्द चौधरी र रामशरण केसी पक्राउ परेका छन् । यो मुद्दामा प्रतीक थापा, नीरज राईसहित १७ जना फरार रहेका छन् ।
दुई दिनअघि प्रहरीले बुझाएको प्रतिवेदनलाई आधार मानेर जिल्ला सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा बुधबार मुद्दा दायर गरेको हो। नेपाली नागरीकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दा चलाएर उनीहरूले करोडौं रकम असुल गरेको प्रहरी अनुसन्धानमा उल्लेख छ। मुलुकको न्यायिक इतिहासमा पहिलो पटक पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण र बहालवाला सचिव टेकनारायण पाण्डेलगायत ३० जनाविरुद्ध राज्यविरुद्धको कसुरसहित चार अभियोगमा मुद्दा दायर गरिएको हो। ३० जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा २२४ पृष्ठको अभियोगपत्र दायर गरिएको छ।
0 comment