काठमाडौं - नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष ढंगले अनुसन्धान प्रक्रिया अगाडि बढाउन सरकारसँग आग्रह गरेको छ।
युवा संघका कार्यबाहक अध्यक्ष अमित लामा नेतृत्वको टोलीले बिहीबार गृहमन्त्री नारायणकाजी श्रेष्ठको कार्यकक्षमा आठ बुँदे माग राख्दै ध्यानाकर्षणपत्र बुझाएको हो । सो क्रममा गृहमन्त्री श्रेष्ठले भने,‘भ्रष्टाचारको निष्पक्ष छानबिन हुन्छ । दोषीलाई कडाभन्दा कडा कारवाही हुन्छ । दोषी उम्कन पाउने छैनन्,निर्दोष कोही फस्ने छैनन् ।’ नेकपा एमाले,नेपाली कांग्रेसको नेतृत्वबाट पनि निष्पक्ष छानबिन गर्न आफूलाई कुनै दबाब नरहेको बताए ।
उनले भने,‘राजनीतिक नेतृत्वले निष्पक्ष छानबिन गर्नुस् भन्नुभएको छ । दोषी सबैलाई कारबाही हुन्छ ।’ श्रेष्ठले निष्पक्ष छानबिन गर्न प्रहरीलाई निर्देशन दिएको बताए । श्रेष्ठले भने,‘स्वतन्त्र र निष्पक्ष ढंगले अनुसन्धानको प्रक्रिया अघि बढ्छ । अनुसन्धानमा कसैमाथि आग्रहपूर्वाग्रह हुँदैनन् । दोषी,अपराधीले छुटकारा पाउने अवस्था छैन । कुनै दबाब हुँदैन । ’
गृहमन्त्रीले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी कुनै षडयन्त्रको शिकार नभएको स्पष्ट पारे।
0 comment