काठमाडौं - नेपाल प्रहरीले विज्ञप्ति जारी गरेर भूटानी शरणार्थी प्रकरणमा प्रहरी महानिरीक्षकको कुनै संलग्नता नरहेको दाबी गरेको छ । 

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता कुवेर कडायतले जारी गरेको विज्ञप्तिमा नक्कली भूटानी शरणार्थी प्रकरणमा नेपाल प्रहरीका महानिरीक्षक बसन्त कुँवरको कुनै संलग्नता नरहेको बताइएको छ । 

कुनै आधार तथ्य र प्रमाणविना अपराध अनुसन्धान जस्तो संवेदनशील विषयमा सम्प्रेषण गरिएको समाचारले जनमानसमा भ्रम सिर्जना हुन जाने र नेपाल प्रहरी सङ्गठनकै विश्वसनीयता, छवि तथा चेन अफ कमाण्डमा समेत आँच आउने हुँदा उक्त समाचारप्रति नेपाल प्रहरी प्रधान कार्यालयको पूर्ण असहमति रहेको विज्ञप्तिमा भनिएको छ ।

प्रहरीले कुनै दुई व्यक्तिले गरेको संवादकै आधारमा शरणार्थी प्रकरणका आरोपितबाट प्रहरी प्रमुख स्वयंले नै आर्थिक फाइदा लिएको भन्ने तथ्य स्थापित गर्न खोजी प्रहरी महानिरीक्षकलाई विवादमा तानिनु अत्यन्त निन्दनीय भएको विज्ञप्तिमा बताइएको छ ।

प्रवक्ता कडायतले नक्कली भूटानी शरणार्थी प्रकरणमा नेपाल प्रहरीले नै सफल अनुसन्धान गरी मुद्दा पेस गरिसकेको अवस्थामा कल्पितरूपमा समाचार बनाई आरोपित भगाउन प्रहरी महानिरीक्षक नै संलग्न भएको प्रचारबाजी गरिनु सङ्गठनकै लागि अत्यन्त दुःखद् रहेको बताए । 

“नेपाल प्रहरी सदैव संविधान, कानून र सङ्गठनको आफ्नै मूल्य मान्यतामा अडिग रही दोषी नछुटुन्, निर्दोष नफसुन् भन्नेमा सचेत र प्रतिबद्ध छ”, नेपाल प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।