काठमाडौं - पछिल्ला विभिन्न घटनाको कारण चर्चामा आएकी विनु यादव र रामेछापका प्रदीप कठायतको विवाहसम्बन्धी मुद्दामा जिल्ला अदालत रामेछापले गरेको सम्बन्ध बिच्छेद्को फैसला उच्च अदालत पाटनले उल्ट्याइदिएको छ ।
मंगलबारको फैसला विनुको पक्षमा भएको उच्च अदालत पाटनकी उपरजिस्ट्रार एवं प्रवक्ता मन्दिरा शाहीले जानकारी दिईन् । प्रवक्ता शाहीले भनिन् ‘सम्बन्ध बिच्छेद्को फैसला उल्टियो । सम्बन्ध कायम रह्यो भन्ने फैसला भयो । अंश बण्डाको पनि आदेश दिनु नपर्ने गरी उल्टिएको छ । मानो–चामलको मुद्दामा भने जिल्ला अदालतले गरेको ९ हजार भराउने फैसलाल सदर भयो ।’ मानो–चामलको मुद्दामा भने मिति टरेकाले उच्चले जिल्ला अदालतको फैसला सदर गरेको बताइएको छ ।
न्यायाधीश सुभाष पौडेल र सूर्य कुमार पाण्डेको संयुक्त इजलासले विनुको पक्षमा फैसला गरेको प्रवक्ता शाहीले जानकारी दिईन् । २०७९ साल असार १६ गते विनुले जिल्ला अदालतको फैसला मान्य नहुने भन्दै उच्चमा मुद्दा दर्ता गरेकी थिइन् ।
२०७९ साल वैशाख ७ गते जिल्ला अदालत रामेछापका न्यायाधीश बद्रीप्रसाद वलीको एकल इजलासले सम्बन्ध बिच्छेद्को फैसला गरिदिएको थियो । विनु र प्रदीपबिच २०७७ साल जेठ ४ गते विवाह दर्ता गरेको प्रमाण देखिन्छ । विवाह गरेको लामो समयपछि मात्रै विवाह दर्ता गरिएको विनुले बताउँदै आएकी छिन् ।
हाल विनु आफू घरेलु हिंसामा परेको भन्दै काठमाडौंका विभिन्न ठाउँमा न्यायको माग गर्दै आमरण अन्सनमा बस्दै आएकी छिन् ।
0 comment