काठमाडौं - कामीरिता शेर्पाले सगरमाथा आरोहणमा फेरि कीर्तिमान कायम गरेका छन् ।
आज बिहान ९:२३ बजे सगरमाथाको चुचुरोमा पुगेसँगै उनले २८औँ पटक सगरमाथाको सफल आरोहण गरी सर्वाधिक सगरमाथा आरोहण गर्ने आरोही बनेका हुन्।
यसअघि जारी सिजनमा यही मे १७ मा उनले २७औँ पटक सगरमाथा आरोहण गरेर कीर्तिमानी कायम गरेका थिए। सोमबार बिहान अर्थात मे २२ मा पासाङ दावा शेर्पाले पनि २७ औं पटक सगरमाथाको आरोहण गरेर कामीरिताको कीर्तिमानीमा बराबरी बनाएका थिए।
यो वर्ष कामीरिताको यो दोस्रो पटकको आरोहण हो ।
खुम्बु पासाङ्ल्हामु गाउँपालिकाको थामेका ५३ वर्षीय कामिरिताले सबैभन्दा धेरै पटक सगरमाथा आरोहणसँगै आठ पटक चोयु, तीन पटक मनास्लु, एक पटक ल्होत्से र केटु गरी ४० पटक विश्वका अग्ला हिमालको आरोहण गरिसकेका छन्।
सन् १९९४ मे १३ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पुगेका कामीरिताको नाममा आठ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान छ ।
वसन्त ऋतुमा सगरमाथा आरोहण गर्न इतिहासकै सर्वाधिक बढी आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार यो वर्ष ४४ आरोही समूहका ४७८ आरोहीले आरोहण अनुमति लिएका हुन् । सगरमाथा आरोहणको ७० वर्षे लामो इतिहासमा यो वर्ष सबैभन्दा बढी आरोहीले आरोहण अनुमति लिएका हुन्।
- रासस
0 comment