काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचन्डले लिम्पियाधुरा लिपुलेक र कालापानी नेपाली भूमि हो भन्ने कुरामा सरकार प्रस्ट रहेको बताएका छन् । उनले सीमा समस्या समाधान गर्नमा सरकारले कूटनीतिक पहल गर्ने पनि बताएका छन् । 

प्रधानमन्त्री दाहालले राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वतन्त्रता तथा स्वाधिनता एवं राष्ट्रिय हितको रक्षा गर्दै समृद्ध, सबल र न्यायपूर्ण नेपाल निर्माण गर्ने सर्वोपरी लक्ष्य हासिल गर्ने दृढ संकल्पका साथ नीति तथा कार्यक्रम प्रस्तुत गरिएको बताएका छन् ।

साथै उनले भारतसँगको सीमा विवाद कूटनीतिक पहलबाट समाधान गरिने बताए । लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि हो भन्ने कुरामा नेपाल सरकार बडो प्रस्ट छ । थाती रहेको सीमासम्बन्धी विषयलाई ऐतिहासिक सन्धि, नक्सा, तथ्य र प्रमाणका आधारमा कूटनीतिक पहलबाट समाधान गर्न दृढ र प्रतिबद्ध रहेको जानकारी पनि माननीय सदस्यहरूलाई गराउन चाहन्छु,’ उनले भने ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि राष्ट्रिय सभामा उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री दाहालले सीमाको विषयमा उठेका प्रश्नको जवाफ दिएका हुन् । भारतले मिचेको दार्चुलाको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र नेपालको रहेकोमा सरकार स्पष्ट रहेको उनले बताएका हुन् ।