काठमाडौं - घुँडामाथिसम्म दुबै खुट्टा गुमाएका भूतपूर्व गोर्खा सैनिक हरिबहादुर बुढा मगरले विश्वको सर्वोच्च शिखर चुमेका छन्। शुक्रबार दिउँसो बुढा मगरले सगरमाथा आरोहण गरेको जनसम्पर्क समितिले जनाएको छ।
यससँगै घुँडामाथिसम्म खुट्टा गुमाएका पहिलो आरोही बन्दै उनले विश्व कीर्तिमानसमेत बनाएका छन्। मगरले कृत्रिम खुट्टाको सहयोगमा सगरमाथा आरोहण गरेका हुन्।
दुबै खुट्टा नभएका हालसम्म दुई जनाले सगरमाथा चढिसकेका छन्। उनीहरू घुँडामुनि खुट्टा नभएका आरोही हुन् भने घुँडामाथिसम्म खुट्टा गुमाएर पनि सगरमाथा आरोहण गर्न सफल बुढामगर पहिलो व्यक्ति हुन्।
संसारको शिखरमा चढ्न आफूले सक्दा अपाङ्गता भएका जो कोहीले आफ्नो सपना पूरा गर्न सक्ने आरोही मगरले बताए। सन् १९९९ मा ब्रिटिश गोर्खा सेनामा भर्ती भएका मगर रोल्पाको मिरूल गाउँमा १९७९ मा जन्मेका हुन्।
ब्रिटिस सेनामा रहँदा अफगानिस्तानको लडाइँमा सन् २०१० मा तालिबानको एम्बुसमा परेर आफ्ना दुवै खुट्टा घुँडाभन्दा माथिबाट गुमाएका थिए। उनले दुबै खुट्टा गुमाएपछि दुई वर्ष उपचारमा र चार वर्ष पुनर्स्थापना केन्द्रमा बिताएका थिए।
यस वर्षको वसन्त ऋतुमा साढे चार सय जनाभन्दा धेरैले सगरमाथा आरोहण गरिसकेका छन्। पर्यटन विभागका निर्देशक युवराज खतिवडाका अनुसार वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि अनुमती लिएका ४७८ जनामध्ये लगभग ४५५ जनाले सगरमाथा चुमिसकेका छन्। तर आरोहीहरुले कम्तीमा एक जना आरोहण सहयोगी लैजाने भएकाले आरोहण गर्न जानेको सङ्ख्या अनुमति लिनेको संख्याभन्दा दोब्बरले धेरै हुने पर्यटन विभागले जनाएको छ।
यस सिजनको आरोहण बैशाख ३० गतेबाट सुरु भएको हो। आरोहणका लागि दक्ष कामदार (आइसफल डाक्टर)ले बैशाख ३० गते दिउँसो सगरमाथाको चुचुरोसम्म ‘रोप फिक्सिङ’ (डोरी टाँग्ने काम) गरेपछि आरोहणको बाटो खुलेको थियो।
सामान्यतया सगरमाथा आरोहणका लागि जेठ १५ सम्मको समय अनुकूल रहेको बताइएको छ। यसैबीच यस वर्ष सगरमाथा आरोहणका क्रममा ११ जनाले ज्यान गुमाइसकेका छन्। अहिलेसम्म ११ जनाको शव उद्धार भइसकेको र दुई जना हराइरहेका पर्यटन विभागका निर्देशक एवम् पर्वतारोहण शाखा प्रमुख युवराज खतिवडाले जानकारी दिए।
0 comment