काठमाडौं - नविल बैंकको धरान शाखाबाट ग्राहकको रकम हराएको छ। 

धरान १३ की सारदा राईले नविल बैंक धरान शाखाबाट आफ्नो ६६ हजार ३ सय ५० रुपैयाँ नगद हराएको उजुरी दिएकी छन्। उनले आफ्नो खाताबाट पटक पटक गरी अन्य बैंकको खातामा रकम ट्रान्सफर गरि आफ्नो पैसा चोरी गरिएको बताएकी हुन्। उनले बैंकबाट रकम चोरी भएपछि रकम चोरी गर्नेहरुलाई पक्राउ गरि कारबाहि र आफ्नो चोरी भएको पैसा फिर्ताको माग राखेर इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएको बताइन्। 

त्यस्तै धरानका श्याम थुलुङले पनि नविल बैंकमा रहेको आफ्नो खाताबाट ८० हजार रुपैयाँ चोरी भएको बताएका छन्। उनले बैंकबाट गत बैशाख ३१ गते उक्त रकम चोरी भएको बताए। रकम चोरी भएपछि उनले पनि इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएका छन्। दुबै जनालाई अपरिचित व्यक्तिले बैंकबाट फोन गरेको भन्दै खाता नम्बर मागेर बैंक खाता ह्याक गरि रकम चोरी गरेको पीडितहरुले बताएका छन्। 

नविल बैंक धरानका प्रबन्धक उज्वल भण्डारीले बैंकका ग्राहकहरुलाई ह्याकरले बैंक कर्मचारी बनेर फोन गरि खाता नम्बर र पासवर्ड मागेर मोबाइल बैंकिङमार्फत रकम ठगि गरेको पाइएको बताए। उनले ग्राहकहरुको रकम ह्याक गरि ठगि गर्नेलाई पत्ता लगाउन बैंकको केन्द्रिय कार्यालयमार्फत पहल भइरहेको बताए। इलाका प्रहरी कार्यालय धरानका डीएसपी नवराज मल्लले नविल बैंकबाट ग्राहकको रकम हराएको विषयमा अनुसन्धान भइरहेको बताए।