काठमाडौं – नुवाकोटको बेलकोटगढी नगरपालिका–७ मा टिप्परको ठक्करबाट एक जनाको ज्यान गएको छ भने, आर्का एक जना व्यक्ति गम्भीर घाइते भएका छन् ।

यसरी ज्यान गुमाउनेमा मोटर साईकल चालक नुवाकोट लिखु गाउँपालिका–१ बोरापानीका नेत्रमान विश्वकर्मा र उनका छोरा निरज गम्भिर घाइते भएको प्रहरीले जनाएको छ ।

५० वर्षीय नेत्रमानको उपचारका क्रममा त्रिशूली अस्पतालमा निधन भएको हो भने उनको छोरा २० वर्षीय निरजको हातखुट्टासहित शरीरको विभिन्न अङ्गमा गहिरो चोट लागेकाले उनको स्वास्थ्य अवस्था गम्भीर रहेको प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिएका छन् । साथै छोरा निरजको त्रिशूली अस्पतालमा उपचार भई रहेको पनी खड्काले जानकारी दिएका छन् । 

नुवाकोटको देवीघाटबाट धादिङको गल्छीतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–२९प ५७५८ नं को मोटरसाइकललाई गल्छीबाट देवीघाटतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१–ख २५८४ नं को टिपरले बेलकोटगढी नगरपालिका–७ ठूला ेखोलामा आज बिहान १० बजेको समयमा ठक्कर दिंदा उक्त दुर्घटना भएको हो ।   

प्रहरीले ठक्कर दिने टिपर र त्यसका चालकलाई नियन्त्रणमा लिई घटनाको थप अनुशन्धान भई रहेको जनाएको छ ।