काठमाडौं - एसियन डेभ्लप्मेन्ट बैङ्क (एडीबी)ले नेपाललाई अन्तर्राष्ट्रिय ट्रेडका लागि आवश्यक स्थलमार्ग बिस्तार अन्तर्गत काँकडभिट्टा–लौकही सडक–खण्ड निर्माणका लागि ३० करोड अमेरिकी डलर ऋण प्रदान गर्ने भएको छ।
एडीबीले बुधबार जारी गरेको एक विज्ञप्तिमा काँकडभिट्टाबाट भारतको लौकही जोड्न कम्तिमा ९५ किलोमिटर दूरी दुई लेन सडक–खण्ड स्तरोन्नती गरेर चार लेन बनाउने उल्लेख छ।
उक्त सडक–खण्ड जलवायु, प्रकोप निरोधक डिजाइनअनुसार उच्च तापक्रम सहज क्षमता र बाढी प्रतिरोधक सडक र पुल बनाइने पनि विज्ञप्तिमा उल्लेख छ।
‘यो सडक परियोजना पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने र दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग करिडोरको हिस्सा हुने छ,’ दक्षिण एसियाका लागि एडीबीका यातायातविद् वाइ चोङले भनेका छन्।
एडीबीले त्यसबाहेक सात लाख ५० हजार अमेरिकी डलर प्राविधिक सहयोग स्वरुप उपलब्ध गराउने द प्रिन्टले उल्लेख गरेको छ। एडीबीले समृद्ध, समावेशी, लचिलो र दिगो एसिया बनाउने लक्ष्यमा केन्द्रित भएको बताएको छ।
0 comment