काठमाडौं – हाइ प्रोफाइलका ब्यक्ती पक्राउ गर्दै आएको प्रहरीले गृहमन्त्रालय हक समितिका प्रमुखलाइ पक्राउ गरेको छ ।

नक्कली शरणार्थी प्रकरणमा मुछिएका हज कमिटीका अध्यक्ष शमशेर मियाँलाइ प्रहरीले पक्राउ गरेको हो ।

मियाँलाई ४ गते बिहीबार बिहान सिंहदरबारभित्रै बाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक  दानबहादुर कार्कीले बताउनु भयो ।

शम्सेर मिया सहित यो प्रकरणमा पक्राउ पर्नेको संख्या १५ पुगेको छ ।

शरणार्थीको नाममा ठग्ने गिरोहलाई गृह मन्त्रालयको गाडी अध्यक्ष मियाँले उपलब्ध गराएका थिए । प्रहरीले अनुसन्धान थालेपछि मियाँ सम्पर्क विहीन भएका थिए ।
गृह मन्त्रालयको स्वामित्वमा भएको बीएबी–१४०५ नम्बरको निशान पेट्रोल जीप पनि प्रहरीले यस अघि नै बरामद गरिसकेको छ ।

पीडितहरूलाई बायोमेट्रिक गराउन र अन्तर्वार्ता दिन बोलाएर गिरोहका सदस्यहरू सो गाडीमा जाने गरेका थिए । चितवनको सौराहा र काठमाडौंका सुन्धारालगायतका ठाउँमा अन्तर्वार्ता लिन जाँदा गिरोहका सदस्यहरूले सो गाडी प्रयोग गरेको अनुसन्धानबाट खुलेको छ ।