काठमाडौं – प्रतिनिधिसभाको बैठक आज ११ बजे बिहान संघीय संसद भवन बानेश्वरमा बस्दै छ । 

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र सांसदहरुबीच पहिलो पटक सवाल–जवाफ हुने संसद सचिवालयले जनाएको छ ।

संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले बुधबार सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा आजको बैठकमा प्रधानमन्त्री प्रचण्डले सांसदहरुले सोधेको प्रश्नको जवाफ दिने उल्लेख भएको छ । 

सवाल जवाफपश्चात प्रधानमन्त्री प्रचण्डले नेपालको संविधानको धारा ५३ बमोजिम ‘राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा गरेका काम र प्राप्त उपलब्धि सहितको आ.व. २०७८÷०७९ को वार्षिक “प्रतिवेदन” पेश गर्ने गौतमले जानकारी दिएका छन् ।

सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको बैठकको पहिलो एक घण्टा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्न सोध्ने कार्यक्रम निर्धारण गर्ने व्यवस्था प्रतिनिधिसभा नियमावलीमा उल्लेख छ ।