काठमाडौं – विशेष प्रहरीको नाममा नक्कली परिचय पत्र देखाएर व्यवसायीलाई धम्क्याउने र ठगी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
‘विशेष प्रहरी’ भनेर परिचय पत्र देखाउँदै व्यवसायीलाई धम्क्याउने र ठगी गर्ने जन गुनासो आएपछि उनीहरुलाई पक्राउ गरीएको प्रहरीले जनाएको हो ।
यसरी पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–५ का २२ वर्षीय खुमबहादुर थापा, राप्ती नगरपालिका–८ का १९ वर्षीय सच्चीन ज्ञवाली, रत्ननगर नगरपालिका–५ का २३ वर्षीय सञ्जीवकुमार मिश्र र खैरहनी नगरपालिका–१३ का २४ वर्षीय सुजन सिलवाल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
उनीहरूले आफूहरू विशेष प्रहरी भन्दै सामाजिक सञ्जालमा कुरा गर्ने तथा व्यवसायीलाई धम्क्याउने गरेको प्रहरीले जनाएको छ ।
प्रेसमा कार्यरत थापाले केन्द्रीय अनुसन्धान ब्यूरोको परिचयपत्र भरतपुर महानगरपालिका–१२ मालपोत चोकको प्रिन्टिङ प्रेसमा नक्कली परिचय पत्र बनाउने गरेको खुल्न आएको छ ।
पक्राउ परेका चारैजनालाई जिल्ला अदालतबाट मुलुकी अपराध संहिताको लिखद सम्बन्धी कसुरमा म्याद थप गरी थप अनुसन्धान भई रहेको प्रहरीले जानकारी दिएको छ ।
यो मुद्दामा सात वर्षसम्म कैद र रु ७० हजारसम्म जरिवानाको व्यवस्था रहेको छ ।
0 comment