काठमाडौं - डिजेलको मूल्य घटेसँगै सरकारले लामो दूरीको सार्वजनिक यातायातको भाडादर घटाएको छ। 

यातायात व्यवस्था विभागले बुधबार एक सूचना जारी गर्दै इन्धनको मूल्यको आधारमा स्वचालित रुपमा भाडा समायोजन गरिएको जानकारी दिएको छ।

डिजेलको मूल्य प्रतिलिटर १० रुपैयाँ घटेसँगै सरकारले यात्रुवाहक र मालवाहक दुवै सवारीसाधनको भाडा ३.२० प्रतिशतले घटाएको हो।

यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको ४.१९ प्रतिशतले भाडा घटेको छ। तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भने ४.६५ प्रतिशतले भाडा घटेको यातायात व्यवस्था विभागले जनाएको छ।

नयाँ भाडादर आजदेखि लागू हुनेछ।

अन्तर प्रदेशको भाडा केन्द्र सरकारबाट र अन्तरपालिकाको भाडा प्रदेश सरकारबाट निर्धारण हुने गरेको छ।

नेपाल आयल निगमले मंगलबार रातिदेखि लागू हुनेगरी डिजेल र मट्टितेलमा प्रतिलिटर दस-दस रुपैयाँ घटाउने निर्णय गरेको थियो। यससँगै डिजेल र मट्टितेलको मूल्य १५५ कायम भएको छ। पेट्रोल, एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखिएको छ।