काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएका नेपाली कांग्रेसका पूर्वसभासद आङटावा शेर्पाले प्रहरीमा आत्मसमर्पण गरेका छन् ।
उनले जिल्ला प्रहरी परिसर, टेकु, काठमाडौंमा आत्मसर्पण गरेको परिसरका एक अधिकारीले जानकारी दिए । जिल्ला अदालत काठमाडौंले आइतबार शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
२०७० मा रामेछाप–१ बाट संविधानसभा सदस्यमा निर्वाचित शेर्पा कांग्रेसको महाधिवेशन प्रतिनिधि हुन् ।
शरणार्थी प्रकरणमा थुनामा रहेका केशव दुलाल र सानु भण्डारीसँग शेर्पाले हिरासतमा पुगेर भेट गरेका थिए । भेटमा उनले बालकृष्ण खाँणको नाम नलिन दबाब र प्रलोभन दिएको हिरासतमा रहेकाहरूको बयानबाट खुलेको थियो ।
शेर्पाले आत्मसमर्पण गरेसँगै यस प्रकरणमा पक्राउ पर्नेको संख्या १४ पुगेको छ ।
२० वैशाखमा पक्राउ पुर्जी जारी भएपछि फरार नेकपा (एमाले) का नेता टोपबहादुर रायमाझी आइतबार राति काठमाडौंको बूढानीलकण्ठ क्षेत्रबाट पक्राउ परेका थिए । रायमाझीलाई अनुसन्धानको क्रममा म्याद लिन प्रहरीले हिजो जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको थियो । रायमाझीलाई प्रहरीले आइतबार राति बुढानिलकण्ठको पासीकोट क्षेत्रबाट पक्राउ गरेको थियो । उनी ११ दिनपछि पक्राउ परेका हुन् । प्रहरीले उनीविरुद्ध वारेन्ट जारी गरेपछि रायमाझी रुपन्देहीबाट सम्पर्कविहीन बनेका थिए ।
उनीमाथि अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले आइतबार तीन दिनको म्याद प्रहरीलाई दिइसकेको छ ।
उनको आइतबारदेखि नै बयान समेत सुरु गरिएको छ भने आइतबार नै बयान लिन थालिएका पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणको अस्वस्थताको कारण आइतबारलाई बयान रोकिएको थियो ।
उनीहरू अघि पक्राउ परेका सबैको बयान सकिएको छ ।
0 comment