काठमाडौं - नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणसँग आज पनि बयान लिइने भएको छ ।
गत बिहीवार पक्राउ परे पनि सोमबारबाट मात्रै विषय केन्द्रित भएर बयान सुरु भएको र सो बयान अझै बाँकी रहेकाले आज पनि बयान लिन लागिएको सरकारी वकिल प्रमुख एवं सह–न्यायाधिवक्ता अच्युतमणि न्यौपानेले बताउनु भएको छ ।
सो प्रकरणमा मुछिए पनि खाँणले ‘मोबाइल फरम्याट’ गरेको तथा सो मोबाइलको ‘डाटा रिकभर’ हुनका लागि समय लागे पछि सोमबारबाट मात्रै उनको बयान सुरु गरिएको प्रहरीले जनाएको छ ।
सो आरोपमा मुछिएका मुख्य आरोपित केशव दुलाल र सानु भण्डारीले सो काण्डमा गृहमन्त्रीको हैसियतमा खाँणको पनि संलग्नता रहेको र मन्त्रालयमा नै लगेर १ करोड ४६ लाख रुयैँया दिएको बयान दिए पछि खाँण सो प्रकरणमा तानिएका हुन ।
यसैगरी नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमाले सांसद टोपबहादुर रायमाझीलाई हिजो म्याद थप गरी थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालतमा उपस्थित गराएको थियो ।
रायमाझीलाई अनुसन्धानको क्रममा म्याद लिन प्रहरीले हिजो जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको हो । फरार रहेका रायमाझीलाई प्रहरीले आइतबार राति बुढानिलकण्ठको पासीकोट क्षेत्रबाट पक्राउ गरेको थियो । उनी ११ दिनपछि पक्राउ परेका थिए । प्रहरीले उनीविरुद्ध वारेन्ट जारी गरेपछि रायमाझी रुपन्देहीबाट सम्पर्कविहीन बनेका थिए ।
0 comment