काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमाले सांसद टोपबहादुर रायमाझीलाई आज म्याद थप गरी थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालतमा उपस्थित गराउँदै छ।

रायमाझीलाई अनुसन्धानको क्रममा म्याद लिन प्रहरीले आज जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको हो । फरार रहेका रायमाझीलाई प्रहरीले आइतबार राति बुढानिलकण्ठको पासीकोट क्षेत्रबाट पक्राउ गरेको थियो । उनी ११ दिनपछि पक्राउ परेका थिए। प्रहरीले उनीविरुद्ध वारेन्ट जारी गरेपछि रायमाझी रुपन्देहीबाट सम्पर्कविहीन बनेका थिए।

रायमाझीलाई नेकपा (एमाले) ले यसअघि नै आफ्नो पार्टीको सचिव पदबाट निलम्बन गरिसकेको छ । प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक, कांग्रेसका पूर्वसभासद् आङ्टावा शेर्पा तथा पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईका छोरा निरजविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेकामा तीनै जना हालसम्म फरार रहेकाले सम्भावित ठाउँमा खोजतलासलाई तीव्र पारिएको प्रहरीले जनाएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिलेसम्म पूर्वउपप्रधानमन्त्री रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित १३ जना पक्राउ परिसकेका छन् ।