काठमाडौं - पक्राउ पुर्जी जारी भएपछि सम्पर्कविहीन भएका एमालेका सचिव (हाल निलम्बित) टोपबहादुर रायमाझी पक्राउ परेका छन्।

उनलाई प्रहरीले आइतबार साँझ बुढानिलकण्ठबाट नियन्त्रणमा लिएको हो। नेपाल प्रहरीका आईजीको प्रत्यक्ष निर्देशनमा खटिएको टोलीले पक्राउ गरेको प्रहरी उच्च स्रोतले बतायो। रायमाझीको नाममा वैशाख २० गते पक्राउ पुर्जी जारी भएको थियो।

त्यसदिन उनी अर्घखाँचीमा आयोजित एक कार्यक्रममा सहभागी भएका थिए। त्यसैदिन बेलुका काठमाडौं फर्किने भनिएपनि रायमाझिले आफ्नो सुरक्षाकर्मी र गाडी मात्र फर्काएर आफु सम्पर्कविहीन भएका थिए।

उनका छोरा सन्दीप रायमाझीलाई भने प्रहरीले सोहि दिन वैशाख २० गते पक्राउ गरेको थियो। नेकपा एमालेले बुधबार मात्रै रायमाझीलाई सचिव पदबाट निलम्बन गरेको थियो।

 नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गर्ने गिरोहलाई सघाएको आरोपमा रायमाझीलाई पक्राउ गरेको हो ।