काठमाडौं - दैलेखको एक स्वास्थ्य केन्द्रमा आगजनी हुँदा १५ लाख बढिको क्षति भएको छ ।

दैलेखको दुल्लु नगरपालिका–७ बाहुनगाउँस्थित आधारभुत स्वास्थ्य केन्द्रको एउटा कोठामा शनिबार राति आगजनी भएको हो । आगजनीका कारण उक्त कोठामा रहेका सम्पूर्ण सामग्री जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय दुल्लुका प्रहरी निरीक्षक कृष्ण डांगीले जानकारी दिए । राति नै आगो निभिसकेको समेत प्रहरी निरीक्षक डांगीले बताए । 

कसले के कारणले आगजनी गर्‍यो भन्नेबारे थप अनुसन्धान थालिएको छ । 

स्वास्थ्य केन्द्रका प्रमुख लक्ष्मी दहित आचार्यले औषधि, बर्थिङ सेन्टरका औषधि उपकरणहरू, सर्जिकल सामान राखिएको मिनी स्टोरका सबै सामग्री जलेर खरानी भएको बताइन् । उक्त कोठामा महंगो औषधि र उपकरण राखिएको थियो । ‘स्वास्थ्य केन्द्रमा पहिला पनि निरन्तर तोडफोड भइरहन्थ्यो, हामीले संरक्षण गर्ने प्रयास गरिरहेका थियौं, यो पटक त आगजनी नै भयो, कसले र किन आगजनी गर्‍योयो भन्ने थाहा छैन्,’ उनले भनिन् । 

‘स्वास्थ्य केन्द्रको ढोकामा लगाइएको ताला फोडिएको छ, मुख्य स्टोरबाट निकालेर प्रयोग गर्नका लागि औषधी उपकरणहरु राख्ने गरेको कोठामा (मिनी स्टोर) आगजनी भएको छ, ढोका र झ्याल पनि जलेको छ,’ उनले भनिन् ।

आगजनीका कारण करिब १५ लाख बराबरको क्षति भएको उनको भनाइ छ ।