काठमाडौं - काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले भ्रष्टाचारविरुद्धको आन्दोलनको नाममा सडक नाटक नदेखाउन आन्दोलनमा सहभागी राजनीतिक दलका नेताहरुलाई आग्रह गरेका छन्।
सामाजिक सञ्जालमार्फत आक्रोश पोख्दै उनले लेखेका छन्, ‘भ्रष्टाचारविरुद्धको आन्दोलन ? को नेता हो थाहा छ ? घर कहाँ हो थाहा छ ?’ उनले प्रश्न गर्दै भनेका छन्, ‘सिधै लगेर बागमतीमा चोपाल्नुस्। यस्तो सडक नाटक धेरै देखिसक्यौं हामीले। पत्याउदिनँ म चाँहि। तपाईँहरुलाई यत्रो भोट दिएर नेता बनाएको आन्दोलन गर्नलाई हैन, सिधैँ कारबाही गर्नलाई हो, सिधैं कारबाही गर्ने नीति बनाउनलाई हो।’
शनिबारको प्रदर्शनमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, हिसीला यमी, सांसद सुमना श्रेष्ठलगायतका राजनीतिक दल नेताहरु सहभागी भएका थिए। प्रदर्शनमा धेरै नागरिक स्वस्फूर्त रूपमा सहभागी भएका थिए।
प्रदर्शनको क्रममा कार्यक्रम स्थलमै पूर्वप्रधानमन्त्री डा. भट्टराईविरुद्ध एक प्रदर्शनकारीले आक्रोश पोखेका थिए। ‘जसले छोरीलाई अमेरिका राखेर पढाएर हाम्रा भाईबहिनीलाई जबरजस्ती उठाएर मार्यो ? त्यसले आएर भ्रष्टाचारविरुद्ध कुरा सिकाएर हुन्छ।’ भट्टराईलाई प्रश्न गर्दै उनले भने, ‘भ्रष्टाचार भनेको पैसा मात्र खानु हो ? बाबुराम भट्टराईको परिस्कृत रुप हो बालकृष्ण खाणहरु, बाबुराम भट्टराई जस्ता हिसिला यमी हरुको परिस्कृत रुप हो बालकृष्ण खाण र मञ्जु खाणहरु। यो अवस्था होइन व्यवस्था परिवर्तन गर्नुपर्छ। यिनीहरुको विरुद्धमा जबसम्म उठ्दैनौं हामी बाहिरकाले हेप्छन्। हिजो हिसिला यमीहरुविरुद्ध आन्दोलन आएको होइन ? स्वतन्त्र अभियान चल्नुपर्यो।’
0 comment