काठमाडौं - प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका एक नायब सुब्बालाई पक्राउ गरेको छ।
अनुसन्धान प्रक्रियामा गइसकेका कतिपय मुद्दामा व्यक्तिगत लाभ हुनेगरी चासो राखेपछि नासु रेवन्त खड्कालाई कार्यालयको कार्यकक्षबाटै पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। 'निजी स्वार्थका लागि उहाँले अनुसन्धान प्रक्रियामा रहेका कतिपय मुद्दामा चासो राखेको पाइयो। उनीविरुद्ध उजुरी परेपछि नियन्त्रणमा लिएका हौं,' सीआईबीका एक अधिकारीले भने।
नासु खड्काले विदेशबाट आफन्तले ल्याएका अवैध सामानसमेत अनुसन्धानमा नलगिकनै फिर्ता पठाउने गरेको आरोप छ। 'उहाँले केही समयअघि आफन्तले विद्युतीय चुरोटभित्र सुनजस्तो देखिने धातु ल्याए पनि प्रक्रिया नपुर्याइकनै फिर्ता लैजानुभयो। सीसीटीभीको तार काटेर कार्गोमा रहेका बहुमूल्य सामानहरू पनि लैजाने गरेको कुरा आएको छ,' अनुसन्धानमा खटिएका प्रहरीले भने।
0 comment