काठमाडौं - नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी देखिएकाहरूलाई कारबाही गर्न माग गर्दै देशभर प्रदर्शन भएको छ। 

शनिबार काठमाडौंको माइतीघर र नक्सालमा गरिएको प्रदर्शनमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, हिसीला यमी, डा. गोविन्द केसी, सांसद सुमना श्रेष्ठलगायत सहभागी भएका थिए। 

उनीहरूले अब भ्रष्टाचार सहन्नौ भ्रष्ट नेता चाहन्नौं, दाइभाउजु मात्र होइन, भ्रष्टाचारी भए मेरै आमाबाबुलाई पनि कारबाही गरलगायतका नारा लेखेको प्लेकार्ड प्रदर्शन गरेका थिए। प्रदर्शनकारीहरुले टोपबहादुर हो कि टापबहादुर भन्दै नारा लगाएका थिए। उनीहरूले भ्रष्टाचारीलाई कारगार लैजानुपर्ने माग समेत गरे।

त्यसैगरी, शरणार्थी प्रकरणका दोषीलाई ‘राज्यविरूद्धको कसुर’मा कारबाही गर्न माग गर्दै सिन्धुलीमा प्रदर्शन गरिएको छ। ‘भ्रष्टचारीको जालो, अतिनै गर्न थाल्यो’,‘कुरा सिधै प्रष्ट छ, हाम्रो सिष्टम भ्रष्ट छ’जस्ता नारा लेखिएका प्लेकार्डसहित नागरिकहरू प्रदर्शनमा उत्रिएका हुन्। 

उनीहरूले नक्कली भुटानी प्रकरणसहित भ्रष्टाचारका अन्य कसुरसहित राज्यविरुद्धको अपराधसमा संलग्नलाई कानुनी दायरमा ल्याउन माग समेत गरेका छन्। सरकारले साना माछालाई नियन्त्रणमा लिएर ठूला माछालाई उन्मुक्ति नदियोस् भन्नका लागि आफूहरू स्वत: सडकमा आएको प्रदर्शनमा सहभागीले बताए।

सार्वभौम देशका नागरिकलाई अनागरिक बनाउने तथा नेपालको अन्तर्राष्ट्रिय छवि र स्वाभिमानमा आँच पुग्ने गरी रचिएको अपराधमा पुर्व गृहमन्त्री, गृहसचिव, गृहमन्त्रीका सुरक्षा सल्लाहकारको संलग्नता खुलेसँगै ‘राज्यविरुद्धको कसुर’ मा समेत मुद्दा चलाउने गरी अनुसन्धानको दायरा फराकिलो बनाउनु पर्ने सहभागीको भनाई छ। 

यसैबिच, नेकपा एमालेले लडाकु शिविर घोटाला काण्डलगायत चर्चामा आएका सबै काण्डहरूको निष्पक्षतापूर्वक छानबिन गर्न माग गरेको छ। ती काण्डहरू छानबिन गर्दा पार्टीले पूर्ण सहयोग गर्ने निर्णय एमालेले गरेको छ।  

एमालेले नक्कली भुटानी शरणार्थी प्रकरणले मुलुकक प्रतिष्ठामाथि नै गम्भीर प्रश्न खडा भएको निष्कर्ष निकालेको छ। उक्त प्रकरणको कुनै राजनीतिक पूर्वाग्रह र दबाबबिना निष्पक्षरूपमा छानबिन गरी दोषीमाथि हदैसम्मको सजाय होस् भन्ने माग गरेको छ। हिरासतमा राखिएका व्यक्तिहरूलाई छानबिनको दायरामा आउनसक्ने व्यक्तिसँग अवैध रूपमा भेटघाट गराउने, पैसा दिएर मुद्दा मिलाउने प्रयाश गर्ने, असम्बद्ध व्यक्तिहरूको नाम लिन र आफू अनुकूलको बयान गराउन दबाब दिइएको जस्ता सूचना सार्वजनिक भएको एमालेले जनाएको छ।

पाँच दलीय गठबन्धन सत्तामा रहँदा चालिएका विगतका राष्ट्रविरोधी नीति र कदमहरूको प्रभाव यतिबेला मुलुकको अर्थतन्त्रले झेल्नुपरेको निष्कर्ष एमालेको छ। व्यापारीका प्रतिनिधिहरूलाई अर्थ मन्त्रालयमा राखेर उनीहरूका स्वार्थ अनुकूल करका दर हेरफेर गरी बजेट बनाएको र अर्थतन्त्रको ठेक्का निश्चित व्यापारिक घरानालाई दिएको प्रभावस्वरूप यतिबेला मुलुक चरम आर्थिक संकटतर्फ धकेलिएको निष्कर्ष एमालेले निकालेको छ।

एकातिर अत्यावश्यक क्षेत्रको बजेट कटौती गरिएको छ भने अर्कातिर छोटो अवधि एमालेले अर्थ मन्त्रालय सम्हाल्दा आर्थिक मितव्ययिता अपनाउन लिइएका निर्णयहरू खारेज गरेर फजुल खर्चलाई निरन्तरता दिइएकोले सामाजिक सुरक्षाको भुक्तानीमा समेत समस्या उत्पन्न भएको छ, सही रूपमा सञ्चालन गर्न हुने उद्योग-व्यवसाय पूरै प्रभावित भएको एमालेले जनाएको छ।

नयाँ लाइलेन्स, ठेक्कापट्टा र आयोजना जस्ता विषय सत्ता साझेदारहरूबीचको भागबण्डा र मिलेमतोमा निश्चित व्यापारिक समूहको हातमा सुम्पेर मुलुकलाई स्वार्थ समूहहरूको कब्जामा राख्ने कोशिसलाई तीब्रता दिइएको एमालेको आरोप छ। यसले व्यवसायीहरू अत्यन्त हतोत्साहित र निराश बन्न पुगेको र व्यवसाय बन्द हुने र उनीहरू पलायन हुने क्रम बढेको एमाले जनाएको छ। 

त्यसैगरी, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले गलत गर्न खोजे समर्थन फिर्ता लिने चेतावनी दिएका छन्। 

पार्टीको उपत्यका र सम्पर्क विशेष प्रदेश कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले शरणार्थी प्रकरणमा अहिलेसम्म सरकारले राम्रो काम गरेको र पार्टीको समर्थन रहेको भन्दै गलत काम गर्न खोजे साथ दिनुपर्छ भन्ने बाध्यता नरहने स्पष्ट पारे।

उनले उक्त प्रकरणमा सरकारले खुट्टा कमाउन हुने भन्दै जुनसुकै ओहोदामा रहेका व्यक्तिलाई पनि उन्मुक्ति दिन नहुने बताए। देशद्रोही काममा कम्युनिष्ट भनिएका व्यक्तिहरु नै संलग्न हुनु लाजमदो कुरा भएको उनले भनाइ छ। 

उनले सत्तामा बसेका माओवादी र कांग्रेसका कतिपय व्यवहारबाट सन्तुष्ट नरहेकाले सचेत गराउनु पार्टीको कर्तव्य रहेको बताए। उनले अहिले पनि नेकपा व्युताउन तयार रहेको भन्दै एमाले अध्यक्ष केपी ओली सच्चिएर आए एकै ठाउ बस्न सकिने जिकिर गरे। 

त्यस्तै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले भ्रष्टचारको गन्ध मात्रै आए पनि कारबाही हुने चेतावनी दिएका छन्। काठमाडौं आयोजित कार्यक्रममा उनले मन्त्रालयका कर्मचारीलाई यस्तो चेतावनी दिएको बताए। 

भ्रष्टचारलाई निर्मूल पारी सुशासन कायम गर्नेगरी कार्यसम्पादन गर्न आफूले सबैलाई निर्देशन दिएको बताउँदै उनले भ्रष्टचारको गन्धमात्रै आउनेगरी काम देखिए कारबाही गर्ने बताएका हुन्।

मन्त्री मोदीले अहिलेको सरकारको प्राथमिकता भनेकै सुशासन कायम गर्ने भएकाले कर्मचारीहरुबाट त्यसको कार्यान्वयन हुनुपर्ने बताए। ‘प्रधानमन्त्रीज्युको पहिलो मिसन भनेको सुशासन हो। सामाजिक न्याय, सुशासन र विकास र समृद्धि अहिलेको सरकाको मुख्य मिसन हो। यसबाहेक अन्य कुरामा ध्यान दिएको खण्डमा सबैलाई जुनसुकै हदसम्मको कारबाही हुन्छ।’

आफूले सम्हालेको मन्त्रालयमा सुशासनसँग जोडिएका दूरगामी महत्वका कामहरू अगाडि बढाएको बताउँदै उनले भने, ‘संघीय निजामती सेवा ऐन ल्याउने र सुशासन कायम गर्ने विषय नै मेरो पहिलो प्राथमिकताको विषय हो। अहिले हामी निमित्तको शासन हटाउने काममा लागेका छौं।’

मन्त्री मोदीले थपे, ‘मैले मन्त्रालयको नेतृत्व सम्हालेपछि स्थानीय तहमा निमित्त नदिने, जसको जहाँ दरबन्दी छ त्यहाँ फर्किनेगरी नीतिगत निर्णय गरेका छौं। अहिले झण्डै एक सयको हाराहारीमा निमित्त हटाएका छौं। यो क्रम जारी रहन्छ।’

त्यसैगरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले देश र जनतामाथि गद्दार गर्नेहरूलाई जेलमा हाल्नुपर्ने बताएका छन्। 

बाहिङ किरात मुलुखिमले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री किरातीले नक्कली भुटानी शरणार्थी प्रकरणले नेपाली सभ्यतामाथि नै धोका भएको भन्दै देश र जनतामाथि गद्दार गर्नेहरूलाई जेलमा हाल्नुपर्ने बताएका हुन्।

नेपालीलाई सुख र नेपालको विकास र समृद्धि होस भनेर लोकतन्त्र ल्याएको भन्दै उनले अहिले लोकतन्त्रमा लुटतन्त्र चलेको धारणा राखे। मन्त्री किरातीले अब ढिलो नगरी ठूला ठूला भ्रष्टाचारका फाइलहरू खोल्नुपर्ने र यसमा आम नागरिकबीच एकता हुनुपर्नेमा जोड दिए। 

हिजोसम्म देशको गृह प्रशासन चलाउनेहरू नागरिकलाई शरणार्थी बनाएकै कारण जेलमा रहेको भन्दै उनले समयभन्दा ठूलो केही नभएको जिकिर गरे। अहिलेको शत्रु भ्रष्टाचार र अशिक्षा भएकाले अब दुवै कुराको अन्त्य हुनुपर्ने उनको भनाइ छ। 

कार्यक्रममा मन्त्री किरातीले बाहिङ-नेपाली-अग्रेजी शब्दकोष विमोचन गरेका थिए।