काठमाडौं - गायक प्रकाश सपुत अमेरिकामा सम्मानित भएका छन्।

गत मे ४ मा गायक सपुतको सम्मानमा न्यू जर्सी नेपाली समुदायबाट संयुक्त रूपमा आयोजित विशेष लाईभ सांगितिक साँझका अवसरमा जर्सी सिटीका मेयर स्टिभन फुलपले घोषणापत्र जारी गर्दै गायक सपुतलाई सामाजिक सचेतना जगाउने मौलिक गीत संगितको उत्कृष्ट सर्जक उल्लेख गर्दै विश्वभरका लाखौं लाख नेपाली डायस्पोराको दिलमा बस्न सफल कलाकारको रूपमा मुक्तकण्ठले प्रशंसा गरेका हुन्। 

गायक सपुतले मेयर फुलपद्वारा सहर घोषणापत्रद्वारा आफूलाई सम्मानित गरेकोमा हार्दिक आभार व्यक्त गरेका छन्।

जर्सी सिटी सहरका नेपालीहरूले गायक सपुतलाई आफ्नो सहरको मेयरबाट सम्मानित गरिएकोमा गौरवीभूत हुँदै सो अवसरमा लाईभ सांगीतिक साँझको आयोजना गरी गायक सपुतको स्वागत गरेका छन्। 

जर्सी सिटीको हड्सन काउन्टी कम्युनिटी कलेजको अडिटोरियमा आयोजित सांगीतिक साँझमा जर्सी सिटीका मेयरका सल्लाहकार एवं न्यू जर्सी गभर्नरकी एशियन अमेरिकी प्यासिफिक आईल्याण्डर कमिसनकी कमिसनर डा. विष्णुमाया परियारले गायक सपुतलाई स्वागत गर्दै जर्सी सिटी सहरको मेयरद्वारा सहर घोषणापत्रबाट सम्मान गर्न पाएकोमा आफू गौरवान्वित भएको बताइन्। 

न्यू जर्सी राज्यका अग्रणी महिला व्यावसायी एवं विमन फर कजकी पूर्व प्रेसिडेन्ट रेणु शर्माले गायक सपुत, पाहुना र सहयोगीहरूलाई उपस्थितिका निम्ति धन्यवाद दिँदै हार्दिक आभार व्यक्त गरिन्। 

गायक सपुतको पछिल्लो बहुचर्चित गीत सकम्बरीले यूट्यूबमा रिलिज भएको दुई हप्तामै १ करोड ७० लाखपटक हेरिएर नेपालकै सांगीतिक इतिहासमा पहिलो रेकर्ड कायम गरेको छ।