– सुनिता विक

काठमाडौं – कञ्चनपुरको बेलौरी नगरपालिका टेडुवा गाउँकी दुर्गा खुना नौ वर्षको उमेरमा नै कम्लहरी बस्नु पर्ने बाध्यता भयो । सानै उमेरमा अरुका घरमा कम्लहरी बसेकी दुर्गाको  पिडा भने फरक खालको छ । हुन पनी घर खर्च चलाउनका लागि अरुका घरमा सानै उमेरमा कमैया वा कम्लीरी बस्नुपर्ने धेरै बालबालिकाको त्यस बेलाको बाध्यता थियो । दुर्गालाई पीडाका पहाडले बाँच्न सिकाएको उनी बताउँछन् । 

उनी नौ वर्षकी हुँदा बुवा बिते  दुर्गाका बुवा छेदु र आमा गुल्टी पनि कमैया बसेका हुन् । उनका बुवा बित्ने बित्तिकै आमाले उनलाई कम्लहरी बस्न घर मालिकका घरमा पठाइ दिइन । उनी भन्दा पछि तीन भाइ हुन । तर तनि भाइ मध्ये कान्छालाई मुटुको क्यान्सर भएर उपचार नपाएर बिते । आमा गुल्टी र उनका दुई भाइ सानै भएपछि पेट पाल्नैका लागि उनीहरु कमलहरी बसे । दुई भाइले अरुको बाख्रा चराउने काम पाए । आमा गुल्टी र दुर्गाले एउटै घरमा बर्षौ सम्म काम गरे । स्कुलको मुख देख्नुपर्ने समयमा उनले अरुका घरका जुठा भाडा माझ्ने र मालिकहरुको सेवामा दिन बिताउनु प¥यो । दुर्गाको मुख्य काम भने घर मालिकका बच्चाहरुलाई स्कुल जनाको लागि तयार गर्नु  पर्दथ्यो । 

उनीहरुलाई खाना खुवाउने घर सफाइ गर्ने र घर मालिकका वृद्ध ८० वर्षका बुवालाई खाना खुवाउने देखि उनको दिसा पिसाब समेत सोर्नु पर्दथ्यो । सानै उमेर देखि अरुका घरमा बस्न थालेकी दुर्गा बहान उठे देखि राती अरु नसुतुन्जेल सम्म काम गर्नु पर्दथ्यो । घर मालिकका बुवा गर्मी याममा काठमाडौँ जाने र चिसोमा कञ्चनपुर नै बस्ने गर्थे । एक पटक मालिकका बुवालाई काठमाडौँ लैजानु पर्ने भयो । 

उनकै स्याँहार सुसारका लागि र दुर्गाको काम देखेर मालिकका बुवाले आफुसंग काठमाडौं लाने निधो गरे । शुरुमा दुर्गाले हुन्छ भनिन् तर पछि दुर्गाले जान मानिन् । बरु दिनभरी उनी धान राख्ने भकारीमा लुकेर बसिन् । घरका मानिसले बोलाउँदा पनि उनी त्यहाँबाट बाहिर आइनन् । पछि त्यहाँबाट निस्किएर घरको काम गर्दै गर्दा उनले मालिकको कुटाइ खानु प¥यो । बाँसको लौरोले ढाडै फुट्ने गरी खाएको कुटाइले उनी घाइते भइन धन्न घर मालीकनी राम्री थिइन् र उनलाई अस्पताल सम्म र्‍याईन । 

९ वर्षको उमेरमा पाएको त्यो यातनाले दुर्गालाई धेरै नै पिडा भयो । उनी दिनभरी गह भरी आसु झार्दै एक्लै रोई रहिन । तर उनका आसु पुछिदिने कोही पनि थिएनन् । पिडा पोखु त कस्लाई पोख्ने यहि पिडाले उनी दिन भरी छटपटाएर बसीन् । दिमागमा अनेक कुरा खेलाउदै मालिकको काम गरी रहिन् । मालिको त्यो पिटाईले दुखी बनेकी दुर्गाको मनमा एक्कासी नयाँ सोच आयो, म जस्ता अरु काम गर्ने वालवालिका कम्लीहरु नेपालमा धेरै छन् । अव यसरी अरुको घरमा कम्लरी भएर बस्नु हुँदैन । अव जति सम्म बसे पनि अरुलाई यसरी बस्न नदिने उनले मन मनै अठोट गरीन् । मेरो यो सानो गल्तीमा त यति कुटाइ खादैँछु भने पछि के हुन्छ होला ? 

अव म जस्ता अरुले पनी यसरी कम्लरी र मालिकको अवहेलना भएर बस्नु हुँदैन साथै हामी मालिकका दाश बन्नु हुदैन त्यसैले म र म जस्ता अरु बालवालिका कम्लरीहरुले मुक्ति पाउनुपर्छ भन्ने दुर्गाको मनमा सोच आयो । पढाई लेखाई त के कुरा गर्नु विद्यालयको मुख समेत त्यो वेलामा देख्न न पाएको दुर्गा बताउछिन् । ‘मालिकका छोराछोरी स्कुल गएको देख्दा म पनी स्कुल जाऊँ जाऊँ लाग्थ्यो, उनीहरूले पढेको देख्दा मलाई पनि पढौँ पढौँ जस्तो लाग्थ्यो । तर के गर्नु ति सबैं ईच्छा आंकक्षा सिमीतमै रहे । 

तर, विडम्बना ‘मैले उनीहरूको मुख हेर्ने बाहेक अरु केही गर्न सकिन्’ दुर्गाले यसरी नारी संसारसंग गुनासो पोखीन् । घरमा जती काम गरे पनी समयमा राम्रो सँग कहिल्यै खान पाईदैनथ्यो, दुर्गाले त्यो अतितको क्षण सम्झिएर गहभरी आसु झार्दै भनीन, घरमा मालिकको एउटा कुकुर थियो, त्यो कुकुरले खाना खाई सकेपछि मात्र हाम्रो खाना खाने पालो आउथ्यो । त्यतिमात्र काहाँ हो र त्यही कुकुरले खाएको थाल धोएर मैले खाना खान्थे उनले झन भक्कानिँदै भनिन् । यति भन्दा उनका आँखामा आशुका भेल रोकिएनन् ।

“भोटे कुकुरले खाना खाएपछि मात्रै त्यसै सिलभरको थालमा दुर्गाले खाना खान पाउँथिन् ।” 

विगतका दिन र मालिको यातना सहेर बसेकी दुर्गालाई कहिले त्यहाँबाट मुक्ति पाइन्छ भन्ने उनको मनमा सोच आई राख्थ्यो । सानै उमेर भएको कारण धेरै काम गर्न नसक्दा मालिकले यातना दिएको र कुट पिट गरेको घटना सम्झन्छिन दुर्गा । जव दुर्गा १८ वर्षकी भएपछि उनको विवाह भयो। विवाह भएपछि उनको श्रीमान् र श्रीमतीले काम गर्न थाले । गर्भवती हुँदा आरामले बस्न र खान भने कहिल्यै पाइनन्  । मालिककै घरमा उनका तीन सन्तान जन्मिए । यस्तो गर्दा गर्दै उनी २०५७ सालमा मुक्त भइन । सरकारले मुक्त कमैया घोषणा गरेपछि सबै कमैयाहरु बाहिर आए तर मुक्तिको बाटो नपाउँदै उनकी आमाको १० वर्ष पहिले नै मृत्यु भइसकेको थियो । 

साउन महिनको वर्र्षे झरीमा सबै सामान मालीकले बाहिर फालेपछि उनीहरु त्यहाँबाट निस्किए । घरबाट निकालिएपछि वेदकोट नगरपालिका ६ ओझा खालीमा कहीदिन रुखमुनी श्रीमान् र बच्चासहित बसिन् । दुई छोरा एक छोरीसहित त्यहाँ उनी जस्तै केही अरु पनि आएका थिए । उनलाई केही संघ संस्थाले त्रिपालको व्यवस्था गरेको थियो ।  उनी हाल आफ्नो परिवारसहित वेदकोट नगरपालिका वडा नम्बर ५ धरमपुर बिचफाँटामा बस्छिन् । सरकारले ५ कट्ठा जमिन दिएको छ तर त्यहाँ पानीको अभाव रहेको उनले बताइन् । उनका श्रीमानले त्यहाँ कुखुरा र बङ्गुर पाली रहेका छन् भने दुई छोराहरु मध्ये एकले ८ र अर्काले १० कक्षा सम्म पढेर विवाह गरेका छन् । कान्छी छोरीले कक्षा १२ सम्म पढेकी छिन त्यो भन्दा माथिको पढाई भने गर्न पाइनन् । 

उनका आफ्ना भाइहरू पनि एक जना भारत र एक जना गाउँमै काम गर्छन् । मुक्तिले मात्रै उनको सपना पुरा भएको थिएन । जुन दिन मालीकले बाँसको लट्ठीले ढाडमा हाने त्यस दिनबाट त्यहाँ बस्नु हुँदैन भन्ने सोच उनले बनाइ सकेकी थिइन । यसरी निस्किएपछि केही गर्नुपर्छ भन्ने सोच उनीमा जीवितै थियो । उनको त्यो जोस जागर देखेर उनलाई मुक्त कमैया समाजले बस्ती कमिटीको सदस्य बनायो । त्यस दिनबाट  राजनीतिक यात्रा सुरु भयो । 

२०५८ तिर मुक्त कमैया समाजले उनलाई क्षेत्रीय अध्यक्ष बनायो । त्यस पछि त्यही समाजले कमैया महिला जागरणको अध्यक्ष बनायो । उनले बोल्न नछोडेकै कारण र हिम्मत गरेकै कारण उनलाई समाजले बारम्बार साथ दिइरहेको थियो । त्यसैले लामो समय सम्म समाजकै लागि काम गरिरहिन । माओवादी पाटीले मुक्त कमैया समाजबाट एउटा सांसद दिनु प¥यो भने पछि मुक्त कमैया समाजले उनको लगनशिलता, व्यवाहार देखेर उनैलाई छनौट गरे त्यसपछि उनी २०६४ सालको दोस्रो कार्यकालको संविधान सभा सदस्य बनीन । त्यही समाजका एक बृद्ध भन्छन्, हो निकै सङ्घर्ष गरेर नै दुर्गा खुना संविधान सदस्य बनेकी हुन् ।

दुर्गा भन्छिन्, समाजको लागि गरे समाजले मलाई गर भनेर अघि बढायो, ’म जस्ता त धेरै थिए तर मलाई नै किन समाजले अघि बढायो त किन भने उनीहरूले विश्वास गरे ।, मैले पनि समाज लागि नगरेको भए समाजले पनि मलाई यहाँ सम्म पु¥यादैँन थियो । सदनमा पुगेर सुरुमै मैले मुक्त कमैयाका लागि आवाज उठाए । पुनर्स्थापनाका लागि आवाज त उठाए तर अझै धेरै काम हुन बाँकी छ । सबैले परिचय पत्र पाउन सकेका छैनन् उनीहरूका लागि अझै आवाज उठाइ रहेकी छु । कार्डको सट्टा एक लाख लिने भन्ने कुरा भयो कतिपयले पाए तर कतिपयले भने अझै पाउन बाँकी नै छ ।

मुक्त कमैयाका लागि अझै धेरै काम गर्न बाँकी छ । कमैयाहरु परिचय पत्र पाएर पुनर्स्थापना भएका छैनन् । एक घर एक रोजगार दिने भन्ने त्यो पुरा हुन सकेको छैन । अझै पनि मुक्त कमैया, कमलहरी र बुक्रही पुनर्स्थापनाका लागि अवाज उठाई रहेकी छु । कमैयालाई जग्गा दिने घर बनाउने, परिचय पत्र दिने लगायत थुर्पै काम अझै अधुरै छन् । अझै ५० प्रतिशत काम गर्न बाँकी हरेको उनले बताइन् । 

उमेरले ५२ काटिसकेकी दुर्गालाई धेरै कुराको हिसाब किताब आउँदैन तर उनले गर्ने कामको भने उनले निकै हिसाब राखेकी छिन । कमैयाहरुमा महिला पनि भएको हुँदा उनीहरूले जग्गा नपाए पनि परिचय पत्र भने पाउनुपर्ने उनको माग छ । सरकारमा बसेकाहरु र समाजले यस्तै साथ दियो भने एक दिन यो समस्या समाधान हुने उनको विश्वास छ । उनले आफ्नो जीवनको अन्तिम सास सम्म कमैया, कमलहरिको क्षेत्रमै काम गर्ने बताइन् । 

के हो क्मलहरी प्रथा ?

कमलरी प्रथा नेपालको पश्चिम तराईमा प्रचलनमा रहेको बँधुवा मजदुरी प्रथा थियो । यस प्रथामा निश्चित रकमका लागि बाबु आमाले साहुको घरमा छोराछोरीलाई काम गर्न पठाउनु पर्दथ्यो । ऋण चुक्ता नहुन्जेल त्यस बच्चालाई साहूले घरायसी काम गराउन सक्थ्यो ।

कमलरी राख्ने चलन प्रायः नेपाल मध्य तथा सुदूर पश्चिमाञ्चल विकास क्षेत्रका तराईका जिल्लामा लामो समयदेखि रही आएको छ । ती जिल्लामा बसोबास गर्ने थारु समुदायका छोरी र केही छोराहरूलाई पनि सानै उमेरदेखि जमीन्दार र सम्भ्रान्त वर्गले घरायसी मजदुरका रूपमा राख्ने कामलाई कमलरी राख्ने भनिन्छ । 

बिगतमा समुदायमा विद्यमान गरीबी एवं अशिक्षाका कारण आप्mना नाबालक छोराछो रीलाई कमलर÷कमलरीको रूपमा सम्भ्रान्तहरूका घरमा पठाउने कामलाई सामान्य रूपमा लिइयो । समय बित्तै जाँदा यसले प्रथाकै रूप लियो । हरेक वर्ष थारु समुदायमा मनाइने माघीका अवसरमा आफ्ना छोराछोरीलाई कमलर÷कमलरीका रूपमा सम्भ्रान्त एवं जमीनदारका घरमा घरायसी मजदुरका रूपमा पठाउने प्रचलन भयो । थारु समुदायको अति महत्त्वपूर्ण मानिने चाड माघीसँग कमलरी राख्ने कुरा जोडिनुले पनि यसले प्रथाको रूप ग्रहण गरेको देखिन्छ । पछिल्लो चरणमा मानव अधिकारको व्यापक बहस र समाजमा शिक्षाको स्तर बढ्दै जाँदा यसको उन्मूलनतर्फ पाइलाहरू चालिए । सन् २००६ देखि यो प्रथा उन्मूलन गरिएको छ । नेपाल सरकारले कमैया मुक्तिको घोषणा गरेको २ दशक भन्दा बढि भई सकेको छ। २०५७ साउन २ गते कमैया मुक्ति घोषणा गरिएको हो । 

पश्चिम नेपालको दाङ्ग, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लामा कमैया र कम्लहरी प्रचलन कायम रहेको थियो । साँझ विहानको छाक टार्नका लागि अरुको घरमा श्रम गर्ने एक प्रकारको प्रथा थियो कमैया र कमलहरी प्रथा । जमिन्दारको घरमा काम गर्ने कमैया र कम्लहरीको नत भूमिमा स्वामित्व थियो न त घरबास नै । तर दुई दशकसम्म पनि बर्दियामा मुक्त कमैयाको पुनःस्थापना टुंगिएको छैन । बर्दियामा मात्र ११ हजार ७ सय ९७ घर परिवार परिचय पत्र प्राप्त मुक्त कमैयामध्ये १० हजार ७ सय ३२ घरपरिवार पुनःस्थापना भइसकेका छन् ।