काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा सहभागी गराउन आतुर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अप्ठ्यारोमा परेका छन् । 

गठबन्धनलाई पाँच वर्ष टिकाउन र सरकारका काम कारबाहीलाई द्रूत गतिमा अगाडि बढाउन रास्वपालाई सरकारमा सहभागी गराउन तयार प्रचण्ड लामिछानेले गृह मन्त्रालयमा दाबी गरेपछि अप्ठ्यारोमा परेका हुन्।

लामिछानेले साविककै मन्त्रालयमा दाबी गरेपछि प्रधानमन्त्रीले गृह मन्त्रालय दिन सकिने आवश्वासन दिएका छन् । तर लामिछानेलाई गृहमा ल्याउँदा माओवादीका वरिष्ठ उपाध्यक्षसमेत रहेका नारायणकाजी श्रेष्ठलाई के गर्ने भन्ने विषयमा प्रचण्ड अन्योलमा छन्। रास्वपा पनि साविकको मन्त्रालय पाए सरकारमा जाने संकेत गरेको छ। 

रास्वपका प्रवक्ता डा. मुकुल ढकालले भने, ‘प्रधानमन्त्रीज्यूले पार्टी सभापति रवि लामीछानेलाई पुरानो मन्त्रालय दिन र नीति तथा कार्यक्रम परिमार्जन गर्न सहमत छु भन्ने कुरा गरिसकेको हुनाले अहिले पार्टीले सरकारमा जाने या नजाने निर्णय गर्नमात्रै बाँकी हो। रास्वपाले कसैसँग गठबन्धन गर्दैन। मुद्दाको आधारमा सत्ता सहयात्रा गर्न सकिन्छ। अर्थतन्त्र कमजोर भएको बेला स्वर्णिम वाग्लेलाई अर्थमन्त्री बनाउनेबारे पनि आजको बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राखेका थिए।’

प्रधानमन्त्री प्रचण्डले चितवनमा आयोजित एक कार्यक्रममा सरकारको नीति तथा कार्यक्रममा रास्वपाले भनेको बुँदा जायज भए सामेल गर्न सरकार र गठबन्धनलाई कुनै अप्ठ्यारो नहुने बताएका छन्। प्रचण्डले भष्ट्राचारको फाइल खोल्न आफू तयार रहेको समेत बताएका छन्। रास्वपाले भष्ट्राचारको फाइल खोल्नुपर्ने एजेण्डालाई प्राथमिकताका साथ अघि सारेको छ।

यसअघि रास्वपाले उपप्रधानमन्त्री तथा गृह मन्त्रालय, शिक्षा मन्त्रालय, श्रम मन्त्रालय पाएको थियो। त्यस्तै स्वास्थ्य राज्यमन्त्री पाएको थियो। हालः गृहमन्त्रीमा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ, शिक्षा मन्त्री जनता समाजवादी पार्टीका अशोक राई र श्रममन्त्री लोकतान्त्रिक समाजवादी पार्टीका शरतसिंह भण्डारी छन्।