काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सरकारमा आउन आग्रह गरेका छन् ।
प्रेस सेन्टर चितवनले भरतपुर १४ स्थित प्रचण्ड टोलमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले सरकारको नीति तथा कार्यक्रम अनुसार माग जायज भए रास्वपालाई सरकारमा सामेल गर्न सरकार र गठबन्धनलाई कुनै अप्ठ्यारो नहुने बताएका हुन् ।
रास्वपाले भष्ट्राचारको फाइल नखोले सरकारमा जानुको कुनै औचित्य नहुने बताएपछि प्रधानमन्त्री प्रचण्डले आफूले भष्ट्राचारको फाइल नखोल्ने नभनेको स्पष्ट पारे ।
उनले भने, ‘यो सरकारले भ्रष्ट्राचारको फाइल नखोल्ने भनेको छैन । आउनुस् भ्रष्ट्राचारको कुन फाइल खोल्न पर्यो, म तयार छु । यो कुरा नोट गर्नुहोला, सरकार यताउता हुन्छ कि भन्ने निकै ठूलो भ्रम हो । यो सरकार पाँचै वर्ष चल्छ।'
यस्तै प्रधानमन्त्री प्रचण्डले ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कार कोष’को काम अघि बढाउने भन्दै आन्दोलनमा उत्रिएका राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनको मागको विषयमा सम्बोधन गर्ने प्रतिवद्धता जनाइसकेको बताए । प्रधानमन्त्री प्रचण्डले पुन सल्लाहमै माइतीघर मण्डलामा धर्ना बसेको बताए । ‘मैले बजेटमा तपाईंको माग सम्बोधनमा मेरो पुरै प्रयास हुन्छ भनेको छु । उहाँले हिँड्ने बेलामा म त माइतीघर मण्डलामा बस्छु है कस्तो हुँदो रैछ भनेर हाँसीहाँसी भन्नुभएको थियो । मैले नै माइतीघरमा बस्नुस् त भन्न मिलेन तर तपाईं बस्नुभयो भने बजेट बनाउन मलाई मद्दत पुग्छ भनेको थिए । मैले सल्लाह मै जानुभएको बुझेको छु’, उनले भने।
यस्तै प्रधानमन्त्री प्रचण्डले नेकपा एमाले अध्यक्ष केपी ओलीको गाडीमा आक्रमणको प्रयास कुनै राजनैतिक दलले नगरेको बताए । प्रधानमन्त्रीले व्यक्तिगतरुपमा वा संस्थागतरुपमा एमाले अध्यक्षमाथि कोही नलागेको बताए।
अयोग्य पूर्वलडाकुलाई दुई लाख रुपैयाँ दिने निर्णय यो सरकार नगरेको उनले स्पष्ट पारे। अहिले २०७१ सालमा गरिएको निर्णयको कार्यान्वयन मात्रै गरेको बताए । ‘पैसा वितरण गर्ने कुरामा मुद्दा परेपछि अन्तरिम आदेशले वितरण रोकिएको थियो, म प्रधानमन्त्री हुनुअघि अदालतले दिनपर्ने भनेपछि अदालतको फैसलाको आधारमा टेकेर कार्यान्वयन गर्ने निर्णय मात्रै मात्र गर्न लागेको हो। अहिले अर्थतन्त्र त्यही दुई लाखले सक्ने भयो भनेर झुठो प्रचार गरिएको छ’, उनले भने।
प्रधानमन्त्री प्रचण्डले यसपटक कृषकलाई समयमै मलको व्यवस्था गर्ने बताए । किसानले यसपटक लाइन नबसी समयमै मल पाउने प्रधानमन्त्रीको भनाइ छ।
0 comment