काठमाडौं - गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले ३ सदस्यीय मन्त्रिपरिषद् बनाएका छन्। 

बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका पाण्डेले शुक्रबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङसँग पद तथा गोपनियताको सपथ लिएपछि २ मन्त्री नियुक्त गरी प्रदेश प्रमुखसँग समक्ष सपथ दिलाएका हुन्। 

साझेदार दल माओवादीकी प्रमुख सचेतक सुशीला सिम्खडा र आफ्नै पार्टीकी नेतृ सरस्वती अर्याल तिवारीलाई मुख्यमन्त्री पाण्डेले विनाविभागीय मन्त्री नियुक्त गरेका हुन्। गण्डकी सरकारमा २-२ जना महिलालाई मन्त्रीको अवसर एउटै मन्त्रिपरिषदमा प्राप्त भएको यो पहिलोचोटि हो। 

सपथ लिएपछि मुख्यमन्त्री पाण्डेले पदभारसमेत शुक्रबारै ग्रहण गरे। उनले यातायातको सेवा सुधार्न समिति गठन गर्ने र सिँचाइको बिजुलीमा छुटजस्ता निर्णय गरेका छन्।

माओवादीका ७, कांग्रेसका २७ र १ स्वतन्त्र गरी ३५ सांसदको समर्थनमा कांग्रेस संसदीय दलका नेता पाण्डेले बिहीबार प्रदेश प्रमुख समक्ष मुख्यमन्त्री दाबी गर्नासाथ नियुक्ति पाएका थिए। यसअघि एमाले संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री खगराज अधिकारीले ९ वैशाखमा प्रदेश सभाबाट विश्वासको मत पाउन सकेका थिएनन्।