काठमाडौं - जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले बारामा चारवटा मतपेटिकाको सिल टुटेको भेटिएको दावी गरेका छन्। राउतले बारा-२ मा सुवर्ण गाउँपालिकाका ४ वटा मतपेटिकाको सिल तोडिएको अवस्थामा भेटिएकाले मतगणना लाइभ हुनुपर्ने माग गरेका छन्।
उनले बारा -२ मा जनता समाजवादी पार्टी धाँधली गरेर निर्वाचन जित्ने रणनीतिमा रहेको आरोप लगाएका छन्। उनले जसपाले हार्न लागेपछि उत्पाद र दंगा मच्चाएर निर्वाचन विथोल्ने कोशिस गरेको समेत आरोप लगाएका छन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'बारा-२ को मतगणना लाइभ हुनुपर्छ। सप्तरी -२ मा हामीले भोगिसकेका छौं, हार्न लागेपछि जसपाले भित्र नै उत्पात र दंगा मचाएर निर्वाचन बदर गराउने कोशिस गरेका थिए। प्रहरी प्रमुखको मिलोमतो थियो नै। बारा-२ मा सुवर्ण गा.पा का ४ वटा बाकसको सिल टुटेको भेटिएको छ।'
बारामा जसपाका उपेन्द्र यादव, जनमतका शिवचन्द्र कुशवाहा, एमालेका पुरुषोत्तम पौडेल, रास्वपाका रमेश खरेल, आमजनता पार्टीका अरुण ज्ञवालीलगायत उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।
बारा २ बाट निर्वाचित सांसद रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा नियुक्त भएपछि रिक्त सो स्थानमा उपनिर्वाचन भएको हो।
0 comment