राम शरण पाण्डे, काठमाडौं

नेपाली सेना कांगडासम्म सिमा बिस्तार गर्दै गर्दा सन् १८१४ नोभेम्बर १ का दिन बुटवल, सिउराजको बिषयलाई लिएर अंग्रेजले नेपालको बिरुद्ध युद्धको घोषणा गर्यो र युद्ध सुरु भयो । अंग्रेजले विभिन्न मोर्चामा फौजी आक्रमण र विभिन्न कुटनैतिक षड्यन्त्र पनि सँगसँगै चलायो । अंग्रेज नेपाल युद्ध सुरु भएको झन्डै ६ महिना पुग्नै लाग्दा सन् १८१५ अप्रिल २८ का दिन अल्मोडाका प्रमुख चौतारिया बमशाहाले अंग्रेज कर्नेल गार्डनरसँग एक सम्झौता गरी युद्ध त्यागिदिए । यस घटनासँगै नेपाली सेनाको मनोबल घट्न थाल्यो भने रौतहट सीमामा युद्धरत ७५ वर्षीय सरदार परशुराम थापाले वीरगति प्राप्त गरे । 
उता देउथलको युद्ध मोर्चामा ७३ वर्षीय भक्ति थापा वीरगति प्राप्त गरेसँगै नालापानी बाट बलभद्र कुँवरले किल्ला छाड्न विवश बने भने हस्तिदल शाहले पनि युद्धमा ज्यान गुमाए । चौतारिया बम शाहको संकास्पद सम्झौतासँगै नेपालले नोक्सानी बेहोर्ने क्रम बढेकोले बडाकाजी अमरशिंह थापा उच्च पद र उत्कृष्ट चरित्रको योग्यता, बीरता एवं देशभक्ति हुँदा हुँदै पनि नेपालको अन्य भुमि रक्षा गर्ने नीति अनुरुप युद्ध अन्त्य गर्ने गरी अंग्रेज सेनापति डेभिड अक्टोर लोनीसँग एक सम्झौता गरी फर्कन बाध्य भए । यसै सम्झौतालाई अमरशिंह थापा र अक्टर लोनी बीच भएको सन्धि भनिन्छ । 
बडाकाजी अमरशिंह थापा र अक्टर लोनीबीच भएका सन्धिका धाराहरु यस प्रकार छन् ।
धारा १
राजगढ़ ृमलाउे मा अहिले रहेको पल्टन जति छन तिनको साथ अमरशिंह थापा त्यो किल्ला छोडिदिनेछन् । उनलाई अस्त्र, सस्त्र, माल सामान विभिन्न सैनिक झण्डा, दुई तोप तथा निजि सम्पति लिएर जाने सम्मानपूर्वक अनुमति दिइने छ ।
धारा २
काजी रणजोरशिंह थापाको बहादुरीको कदर गर्दै उनलाइ जैथकको किल्लाबाट २०० मानिस र आफ्ना हातहतियार, झन्डाहरु र १ थान तोप लिएर जाने अनुमति दिइन्छ । उनि साथै उनीसँग भएका सबै अधिकृतहरु र निसस्त्र ३०० जवानलाई र आफ्नो निजि सम्पति लिएर किल्लाबाट जाने अनुमति दिइने छ ।
धारा ३
काजी अमरसिंह थापा र काजी रणजोरसिंह थापालाई आफ्नो सम्पति र मातहतको मानिसका साथ हरिद्धार र नजीवाबाद अथवा उनीहरुका
इच्छानुसार अरु कुनै सहज बाटो भई सर्यु अथवा काली देखि पूर्वको इलाकामा रहेका नेपाली फ़ौजसित मिसिन जाने स्वतन्त्रता रहने छ । यस सन्धिले स्वीकारेको नेपाल राज्यको सिमानापारि सम्म उनीहरुको मालसामान पुर्‍याइदिने प्रबन्ध पनि गरिने छ ।
धारा ४
आफुलाई अनुकुल पर्ने कुनैपनि ठाँउमा काजी अमरसिंह थापालाई काजी रणजोरसिंह थापासँग भेट गर्न छुट दिइने छ र भेट्न सक्ने छन् ।
धारा ५
काजी अमरसिंह थापा र काजी रणजोरसिंह थापाको व्यक्तिगत सम्मान रक्षार्थ नियुक्त भएका सिपाहीहरुबाहेक अन्य सबै नेपाली सिपाहीहरुलाई इच्छानुसार ब्रिटिस सेनामा भर्ति हुने अनुमति छ । यसरी भर्ति हुन चाहने सिपाहीहरुलाई दुवै राज्यकोबीच सन्धि नहुन्जेलसम्म कम्पनि सरकारबाट नै भत्ता पाउने व्यवस्था गरिने छ ।
धारा ६
आफ्नो निजी सम्पति हटाउनसाथ अमरसिंह थापा मलाउँको किल्ला छोडिदिन राजि हुनेछन्  ।
धारा ७
भिली आर्किफ, सवाथु, जैथक, जगतगढ र वाइन तथा यमुना र सतलजको बिचको किल्ला एबं गढमा भएका अधिकारीहरुलाई आ(आफ्ना किल्ला र गढ छोडिदिने आदेश पत्र पठाउन अमरसिंह थापा राजि हुनेछन् । उक्त किल्ला र गढहरुमा भएका मानिसहरुलाई आफ्नो सम्पतिको भोग चलन गर्ने अधिकार हुनेछ र उक्त स्थानमा भएका हतियारहरु गभर्नर जनरलको कुनै निर्णय प्राप्त नभएसम्म सुरक्षित राखिने छ । तर काजी अमरसिंह थापासँग सम्बन्धित ८३ जनालाई आफ्ना हतियार लिएर जाने अनुमति दिइने छ ।
धारा ८
गढवालको इलाका छोडिदिने र त्यस इलाकाका सबै किल्ला ब्रिटिस अधिकृतको हातमा सुम्पने अनुमति काजी बख्ताबरसिंहलाई तुरुन्त पठाउने कुरा काजी अमरसिंह थापालाइ मान्य हुनेछ । उनीहरु कम्पनि सरकारको आज्ञापत्रको साथ कुमाउँको बाटो ठाँउ(ठाँउका पल्टन र युद्ध सामाग्री आफ्नो कब्जामा पार्दै लिएर जाने छन् ।
धारा ९
अमरसिंह थापालाई आशा छ कि उनले आफ्ना मातहतका सबै किल्ला अंग्रेजलाई सुम्पेकाले नेपाल र कम्पनीको बीच ६० बर्षदेखि चलिआएको मैत्रीसम्बन्ध पुनस् स्थापित हुनेछ । 
यसप्रकारको तर्साउने र फकाउने कुटिल अंग्रेज नीतिले नेपाललाई हानि भएको तर पनि अरु भुमि सुरक्षित गर्नका लागि यो सन्धि भएको देखिन्छ ।