काठमाडौं - जलवायु परिवर्तन न्यूनीकरणका लागि साझेदारी गरेर अगाडि बढ्नका लागि नेपालले बङ्गलादेशलाई आग्रह गरेको छ ।
अरजरबैजानको बाकुमा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसिसिसी) का पक्ष राष्ट्रहरुको सम्मेलन कोप- २९ मा भाग लिन अजरबैजानमा रहनुभएका वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी र बङ्गादेशका पर्यावरण, वन तथा जलवायु परिवर्तन र जलस्रोतमन्त्री स्येदा रिजवाना हसनबीच आज भएको द्विपक्षीय भेटमा जलवायु परिवर्तनको मुद्दालाई साझा एजेन्डा बनाउन जोड दिइएको हो ।
नेपालले बङ्गलादेशलाई जलविद्युत् निर्यात गर्न सुरु गरेको उल्लेख गर्दै मन्त्री शाहीले जलविद्युत् सफा ऊर्जा भएकाले, जलवायु परिवर्तन न्यूनिकणको सन्दर्भमा महत्वपूर्ण रहेको बताउनुभयो ।
नेपालमा ऊर्जासम्बन्धी जिम्मेवारी ऊर्जा, जल स्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गत भए पनि, जलवायु परिवर्तनको सन्दर्भमा महत्वपूर्ण हुने भएकाले, बङ्गलादेशले स्वच्छ ऊर्जा आयातलाई प्राथमिकतामा राखेको विषय महत्वपूर्ण रहेको बताउनुभयो ।
जलवायु परिवर्तन वार्तामा तीन देश (बङ्गलादेश, भुटान र नेपाल) बीचको सहकार्यको पहललाई अगाडि बढाउन तथा प्राविधिक टोलीलाई त्यसको तयारीका लागि अघि बढ्न र छिट्टै मन्त्रीस्तरीय बैठकको समय तय गर्न मन्त्री शाहीले आह्वान समेत गर्नुभयो ।
बाकु सम्मेलनले यी महत्वपूर्ण विषयमा निर्णय गर्दै, विशेष गरी जलवायु वित्तका सन्दर्भमा निष्कर्षमा पुग्ने मन्त्री शाहीले विश्वास व्यक्त गर्नुभयो ।
कोप- २९ को भेटघाट महत्वपूर्ण रहेको उल्लेख गर्दै उहाँले नेपाल र बङ्गलादेशबीच द्वीपक्षीय सम्बन्ध तथा सहकार्य आगामी दिनमा झन प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो ।
भेटमा बङ्गलादेशका मन्त्री हसनले नेपालसँगको ऊर्जा व्यापार सम्झौताका लागि सहकार्यको प्रशंसा गर्दै भविष्यमा यसलाई निरन्तरता दिँदै जाने आशा व्यक्त गर्नुभयो ।
दक्षिण एशियामा जलवायुजन्य हानि नोक्सानी सम्बन्धी वार्तालाई क्षेत्रीयस्तरमा अघि बढाउने विषयमा समेत छलफल भएको छ ।
बङ्गलादेश, भूटान र नेपालबीच मन्त्रीस्तरीय बैठक जति सक्दो चाँडो बङ्गलादेशमा आयोजना गर्ने सहमति भएको छ । बैठकको समय भने पछि तय गरिने छ ।
0 comment