काठमाडौं - बागमती प्रदेश सरकारका नवनियुक्त मन्त्रीहरूले पद र गोपनीयताको शपथ लिएका छन्।
बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले आजै नियुक्त गरेका आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिंह लामा र खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री तीर्थ लामालाई शपथ ग्रहण गराएका हुन्। आज थपिएका दुवै मन्त्रीहरू नेपाली कांग्रेसको तर्फबाट हुन्।
प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मन्त्रिपरिषद् विस्तार गरेका हुन्।
बागमती प्रदेशमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा र हाम्रो नेपाली पार्टीको संयुक्त गठबन्धनबाट जम्कट्टेल पुस २५ गते मुख्यमन्त्री नियुक्त भएका थिए।
उनले पुस २६ गते ३ सदस्यीय मन्त्रिपरिषद् पुर्नगठन गरेका थिए। जसमा आर्थिक मामिला तथा योजनामन्त्री नेकपा एमालेका जगन्नाथ थपलिया र ऊर्जा जलस्रोत तथा सिंचाईमन्त्री राप्रपाका उद्धव थापा नियुक्त भएका थिए। माघ ४ गते विश्वासको मत पाएसँगै मुख्यमन्त्री जम्कट्टेलले एमाले र राप्रपाको गरी थप ३ जना मन्त्री नियुक्त गरेका थिए।
केन्द्र सरकारमा राजनीतिक समिकरण बदिलिएसँगै फागुन १३ गते बागमती सरकारबाट राप्रपाले समर्थन फिर्ता लिएको थियो। सोही दिन राप्रपाको तर्फबाट मन्त्री बनेका ३ जनाले पदबाट राजीनामा दिएका थिए।
मुख्यमन्त्री जम्कट्टेलले चैत १० गते पुनः विश्वासको मत लिने क्रममा एमालेले विश्वासको मतको विपक्षमा मतदान गर्दै सरकारबाट बाहिरिएको थियो।
0 comment