काठमाडौं,

गोरखपुर, बुटवल क्षेत्रमा नेपाल र अंग्रेजको बीच विवाद भयो । विवादमा नेपाली सेनाद्वारा सयौ अंग्रेज सेना मारिए । त्यसैलाई निहु बनाएर १ नोभेम्बर १८१४ का दिन इस्ट इण्डियाका तर्फबाट जनरल हेस्टिग्सले नेपाल विरुद्ध विधिवत रूपमा युद्धको घोषणा गरे ।

नेपाल–अंग्रेज बिचको पाँच मोर्चा मध्ये सुदूर पश्चिमतर्फको कमाण्ड अमरसिंह थापाले सम्हालेका थिए । उनले यही ठाउँबाट युद्धको मोर्चा सम्हाले । सतलज भेगबाट नेपालमा आक्रमण गर्न खटिएका अंग्रेज जनरल अक्टर लोनीले अमर सिंह थापालाई विभिन्न प्रकारका प्रलोभन दिएर आफूसँग मिलाउन निरन्तर कोशिस गरे तर अमरसिंह थापा अंग्रेजहरूको लोभमा फसेनन् र उनी विरतापूर्वक लड़ेर किल्ला जोगाई राखे । यसरी सतलज हत्याउन नसकेपछि, अंग्रेजहरू अर्को युद्ध मार्गबाट नेपाली भूमिमा छिरे ।

अंग्रेज सेनाहरुले सतलजमाथि काबू गर्न नसकेपछि अर्कोतर्फबाट नालापानी तिर बढ़े । नालापानी किल्लामा कमान्डर बलभद्रकुवँर थिए । सन् १८१४ अक्टोबरदेखि नोभेम्बरसम्म भएको भीषण नालापानी युद्धमा अंग्रेज जनरल जिलेस्पी सहित हजारौ सेना मारिए । अन्तमा नेपाली सेनालाई नेपाली युद्ध कौशलबाट हराउन नसके पछि अंग्रेजहरूले किल्लामा आउने पानीको मुहाननै रोकी दिए । धेरै दिनसम्म पानी पीउन समेत नपाए पछि बाध्य भएर बलभद्र कुवँर बाँचेका आफ्ना ७० जना महिला तथा केटाकेटी योद्धाहरूसहित नांगो खुकुरी नचाउदै किल्ला छोडे । उनले किल्ला छाड़दा अंग्रेजहरू चकित भएका थिए । किनकि उनीसँग निकै कम मात्रामा योद्धा थिए ।

नालापानी युद्धपछि अर्को निर्णायक युद्ध मलाउको देउथलमा भयो । यो मोर्चामा पनि नेपाली सेनाको हार भयो । अंग्रेजहरूले आफ्नो सम्पुर्ण शक्ति लगाई यो किल्ला हत्याउन सफल भए पछि ७० वर्ष नाघेका विर योद्धा भक्ति थापा पुनः यो किल्ला फर्काउन अंग्रेज फौजमा जाइ लागे । तर अंग्रेजहरूको तोपबाट छुटेको गोला उनको छातीमा लाग्यो र उनी त्यही ढ़ले । अंग्रेज र नेपाल युद्ध ५ मोर्चामा भएको थियो । पाँच मोर्चामध्ये तीन मोर्चामा नेपालाई बचाए पनि दुई मोर्चामा अंग्रेजहरूको जीत भयो । त्यस पछि अक्टरलोनी र अमरसिंह थापा बीच १५ मई १८१५ मा एक सन्धि भयो । यस सन्धिअनुसार नेपालले आफ्नो महाकाली पश्चिमको भूभाग छाड्यो तर अंग्रेजले यसलाई एउटा अवसरको रुपमा लिंदै सन्धि पालना गरेनन् । यस सन्धिले नेपाललाई आफ्नो पश्चिमी भूमि छाड्न लगायो । त्यो सँगै अंग्रेज नेपालमाथि पुन आइलाग्यो र नेपालले सुगौली सन्धि जस्तो असमान सन्धिमा हस्ताक्षर गर्न बाध्य हुनु प¥यो ।